निसीखोलाको चिनारी पातीहाल्ने र रिगताल

डम्मर बुढा मगर   POSTED ON : श्रावण १, २०७८ (६:०७ AM)

निसीखोलाको चिनारी पातीहाल्ने र रिगताल

बागलुङ । उच्च पहाडी ठाउँ, चिसो हावापानी, शान्त वातावरण । मनै लोभ्याउने चराचुरुंगीको चिरबिर आवाज । त्यहीमाथि सयौं प्रेमिल जोडी र पारिवारिक घुमघामले चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । कोरोनाको पहिलो लहरमा समेत आन्तरिक पर्यटकको चहलपहल रहेको यस क्षेत्रमा अहिले अलिक कम भएको छ ।

निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यमा मोहित हुने दर्जनांै नागरिक कोरोनाको दोस्रो लहरका कारण घरभित्रै कैद छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यस क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको स्थानीय बताउँछन् ।

ताल र पातीहाल्ने क्षेत्रलाई निसीखोलाको चिनारीका रूपमा लिन थालिएको छ । पर्याप्त सम्भावना बोकेको यस क्षेत्र पाँच वर्ष पहिलेसम्म गुमनाम अवस्थामा थियो । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो तब यसको प्रचारप्रसार तीव्ररूपमा हुन थाल्यो । अझ भनांै, लोकमार्ग कालोपत्रे भएपछि यस क्षेत्रको मुहारै फेरिएको छ । गोठालाले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयले गरेका थिएनन् ।

तर, समय परिस्थिति बदलिएपछि पातीहाल्ने क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । कोरोना कहरका कारण आजभोलि पातीहाल्नेमा कम पर्यटक पुग्ने गरेका छन् । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुन्छ । अन्य समयमा भने सानो संख्यामा पर्यटकहरू घुमघाम गर्न आउँछन् । पुसमाघको समयमा पर्यटकहरू गाडी लिएर नै हिउँ खेल्न जान्छन् भने वैशाख, जेठ, असार महिनामा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् ।

गत कोरोना महामारीकै बेला पनि सयौं पर्यटकहरू गर्मी छल्न र हिउँ खेल्न गए भने यस वर्ष अहिलेसम्म जिल्लामा बन्दाबन्दी जारी भएको हुँदा उनीहरू त्यहाँ पुग्न सकेका छैनन् । गत वर्ष कोरोनाकै बेला पनि धेरै पर्यटक गाडी नै लिएर आउने गरेकोमा यस वर्ष कम आएको निसीखोला गाउँपालिका–६ की स्थानीय पुनिकला घर्ती मगरले जानकारी दिनुभयो । 

यस वर्ष कोरोनाबाट बढी नागरिक प्रभावित भएकाले पातीहाल्नेमा पर्यटकको चहलपल निकै कम भएको उहाँ बताउनुहुन्छ । ‘गत वर्ष अहिलेको भन्दा कम जोखिम थियो, जसले गर्दा बढी मानिस गाडी लिएर घुम्न आउने गर्नुहुन्थ्यो भने अहिले हाम्रो पालिकामा पनि धेरैमा कोरोना देखियो, त्यसले गर्दा पनि होला अहिले पातीहाल्नेमा धेरै चहलपल हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

पाँच÷सात वर्षअघिसम्म घना जंगलले ढाकिएको पातीहाल्नेमा अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । ‘अहिले जुन ताल छ, त्यो पहिले भेडीगोठालाहरूले पानी खाने ठाउँ हो, अझै पनि यहाँबाट गोठालाहरूले पानी भरेर उपयोग गर्ने गर्छन् तर पहिलेको जस्तो रहेन, अहिले त थप व्यवस्थित भएको छ, गाउँपालिकाले पनि संरक्षण गर्न थालेको छ, पर्यटकहरू आउन थालेका छन्, निकै प्रचार पो भयो,’ उहाँले भन्नुभयो ‘पातीहाल्ने र रिगताल सडकले गर्दा यति धेरै चर्चामा आएको छ, पहिले त त्यस्तो केही थिएन, जोकोही पुगेका पनि थिएनन् ।’

पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । 

रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाका विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँहरू देख्न सकिन्छ भने माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायतका दर्जनौं हिमशृंखला र उच्चपहाडी क्षेत्रका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । हरेक वर्ष यस क्षेत्रमा हजारौं आन्तरिक पर्यटकहरू आउने स्थानीय बताउँछन् ।

ताललाई व्यवस्थित गर्नका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले यसको विकासका लागि डीपीआर तयार पारेको र तालसम्म पुगेको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने बताउनुभयो । 

‘ताललाई थप आकर्षक बनाउनका लागि केही फराकिलो बनाउने, त्यसवरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौं, केही कामहरू भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्नेछौं ।’


Top