बेलायतमा भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

ध्रुबसागर शर्मा   POSTED ON : श्रावण २, २०७८ (५:४५ PM)

बेलायतमा भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

म्याग्दी ।  बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको जन्मघरलाई संग्रहालय बनाउने तयारी शुरु भएको छ ।

 म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुकमा जन्मिएको पुनले दोस्रो विश्वयुद्धमा गरेको योगदानलाई उच्च मुल्यांकन गर्दै भिसि तुलबहादुरको सम्झनामा बेलायतमा जुन २३ बाट रेल सेवा सुरु भएको छ ।

 बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा सुरु गरेको हो । बेलायतमा चर्चाको शिखरमा रहेका भिसी जन्मथलो म्याग्दीमा भने गुमनाम रहेको छ ।

पुनले भिसी पाएको ७६ वर्ष पुगेको छ । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक पाएका थिए । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा २०२१ जुन २३ बाट बेलायतमा रेल सेवा संचालन भएको छ । भिसी पुनले भिक्टोरिया क्रस पाएको दिन र ७६ बर्ष पुगेको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा भिसि पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेलाई भिसिका परिवारले धन्यवाद दिनुभएको छ ।


गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका १ बादुकमा अझै सुरक्षित रहेको छ । घरलाई संरक्षण गरेर पर्यटकिय गन्तव्य बनाउन उहाँका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि गर्नुभएको छ ।  बेलायतको उच्च सम्मान पाउनु भएको भिसी तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ । बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिनुभएको तुलतबादुर २० वर्षको उमेरमा भर्ती हुनु भएको थियो । उहाँको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो।

स्वर्गिय पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पतिको संरक्षण तथा फलफूल लगाउने काम गरिरहनु भएको छ ।  स्वर्गिय पुन जन्मिएको तीन तले घरलाई उहाँले प्रयोग गरेका सामानहरु, पाएका सम्मानहरुलाई संरक्षण गरेर संग्रालयको रुपमा घरलाई बनाउने तयारी भएको छोरा अर्जुन तिलिजाले बताउनु भयो । जन्मिएको घरमा पुरानै सामानहरु समेटेर संग्रालय बनाएर संरक्षण जिम्मा गाउँलाई दिने योजना रहेको बुहारी शान्ती तिलिजाले बताउनु भयो ।

स्वर्गिय भिसी पुन अवकासपछि बादुक गाउँ फर्किर खानेपानी, खेलमैदान, विद्यालय भवनलगायत दर्जनौं योजनामा समेत काम गर्नुभएको थियो । गाउँमा कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा कालिका आधारभूत विद्यालयको स्थापना भिसि पुनले गरेको स्थानीयबासी पुर्णबहादुर गर्वुजाले बताउनु भयो । वादुकवासीले तुलबहादुरको नाममा तिप्ल्याङदेखि बादुकसम्मको सडकलाई पुन भिसि सडकको रुपमा नामाकरण गरेका छन् भने तिप्ल्याङ– बादुक भिसी पदमार्ग बनाउने योजनामा बादुकबासी लागेका छन् ।


मगर कलासस्कृति, बेगसंग जोडिएको दोस्रो अग्लो र लामो पुल भएको यस बादुक गाउँमा स्वर्गिय पुनको नाममा संग्रालय निर्माणले पर्यटकको गन्तव्यको विकास गरेर स्थानीयलाई लाभान्वित बनाउने योजना रहेको वडाअध्यक्ष विलबहादुर फगामीले बताउनु भयो।  बेलायतमा गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् । 


Top