धौलागिरी अस्पतालमा पाँच शैयाको शिशु सघन कक्ष

डम्मर बुढा मगर   POSTED ON : श्रावण १४, २०७८ (१०:४६ AM)

धौलागिरी अस्पतालमा पाँच शैयाको शिशु सघन कक्ष

बागलुङ । पछिल्लो समय गुणस्तरिय स्वास्थ्य सेवा वृद्धि गर्दै आएको धौलागिरी अस्पताल बागलुङमा नवजात शिशु सघन कक्ष (एनआइसीयू) स्थापना गरिएको छ । नवजात शिशुमा आउने जटिलता र त्यसको समाधानका लागि एनआइसीयू आवश्यक हुने भए पछि धौलागिरी क्षेत्रका नवजात शिशुलाई काठमाण्डौं पोखरा पठाउनु पर्ने बाध्यता हटेर गएको छ । 

जन्मेदेखि चार हप्ता सम्मका शिशुको उपचारका लागि सघन उपचार कक्ष सञ्चालनमा आएको धौलागिरी अस्पतालले जनाएको छ । धौलागिरी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शेलेन्द्र विक पोखरेलले धौलागिरीका चार जिल्लामै पहिलो पटक धौलागिरी अस्पतालमा एनआइसीयू कक्ष स्थापना भएको छ । अस्पतालमा एनआइसीयू स्थापना भएसंगै बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका नवजात शिशुहरुलाई सहज हुनेछ । 

शिशु जन्मदा साथ धड्कन बढेको, अत्यधिक ज्वरो आएको, निमोनिया  लगायत समस्या परेका शिशुको उपचार यही कक्षमा हुने बालरोग विषेशज्ञ डा. प्रकाश थापाले जानकारी दिनुभयो । “अहिले पाँच शैयामा सञ्चालनमा आएको शिशु सघन कक्षमा दुई बेड भेन्टिलेटर सहितको छ” डा.थापाले भन्नुभयो “पोखरा, काठमाण्डौं लगायतका ठूला अस्पतालमा रहेको शिशु सघन उपचार कक्ष अब बागलुङबाटै शुरु भएको छ, शिशु जन्मेको पहिलो महिना सम्म आउने सबै समाधान यही अस्पतालबाटै हुनेछ ।”

तत्कालै शिशु सघन उपचार कक्षमा लैजानु पर्ने शिशुलाई पोखरा लैजान समय खर्च हुने बाटोमै शिशुको मृत्यु हुने लगायतका समस्याको शिशु सघन उपचार कक्ष स्थापना भए पछि अटेर जानेछ । शिशु सघन कक्ष स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट ६० लाख बजेट आइसकेको छ । थप बजेटको समेत माग गरिएको छ । तत्कालै सडक अबरुद्ध हुँदा पोखरा रिपर गर्न नसकिएका शिशुलाई उपचार गराइरहेको अस्पताल प्रमुख डा. पोखरेलले जानकारी दिनुभयो । गण्डकी प्रदेशले तीन करोड बजेट दिने भने पनि जम्मा ६० लाख मात्र आएको उहाँको भनाई छ ।  

तीन करोड बजेट आएमा शिशु सघन कक्ष र बालबालिका सघन कक्ष सञ्चालनमा ल्याउन सहज हुने अस्पतालले जनाएको छ । शिशु सघन कक्षमा एक महिना भित्रको शिशु र बालबालिका सघन कक्षमा एक महिना बढीको शिशुको उपचार हुनेछ । स्वास फेर्न समस्या, निमोनियाले ग्रस्त, अत्याधिक ज्वरो लगायतका जटिल समस्या आउँदा सघन उपचार कक्षमा शिशुको उपचार गर्न आवश्यक रहेको अस्पतालका बालरोग विषेशज्ञ डा. सृष्टी उपाध्यायले बताउनुभयो । शिशु सघन कक्ष स्थापना भएपछि बाल मृत्युदर समेत घटेर जाने अपेक्षा छ । 


Top