पर्यटकीय गन्तव्य बन्दै मुन्द्रा चढाउने डाँडा

धु्रवसागर शर्मा   POSTED ON : भदौ २१, २०७८ (६:२५ AM)

पर्यटकीय गन्तव्य बन्दै मुन्द्रा चढाउने डाँडा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुंग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइ लम्बाउन मान्द्रेढुंगा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँगै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको छ ।

धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुंग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडा समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छे«, मनास्लुलगायत २० बढी हिमशृंखला, सूर्योदय, पहाडी भुगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

मान्द्रेढुंगादेखि मुन्द्रा चढाउने डाँडामा जाने बाटोमा पर्ने विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका आकृतिहरू अवलोकन गर्न सकिन्छ । नजिकै झरना पनि रहेको बराह गुफाको धार्मिक महत्वसमेत छ । मुगल संस्कृतिअनुसार जनैपूर्णिमाको अवसरमा पूजाआजा गरेमा मागेको इच्छा पूरा हुने स्थानीयको जनविश्वास रहेको छ । जहाँ झरनासँगै रहेको गुफामा वडाले पूर्वाधार निर्माण गरेको छ ।

मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको दस लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुंगाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको वडाध्यक्ष फगामीले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ-तातोपानीको सिंगारेढुंगादेखि मान्द्रेढुंगा जोड्ने पदमार्ग निर्माण भएको छ ।

धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुंग तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडाबाट हिमाल, पहाडी भुगोल, वनजंगलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । गाउँपालिकाले लुकेर रहेका विभिन्न मनमोहक दृश्य अवलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरू, वनजंगल, तालतलैया, जडीबुटी, झरनाहरूलाई संरक्षण तथा पूर्वाधार निर्माणमा जोड दिएको छ ।


Top