एक सातादेखि धौलागिरीको चार जिल्लामा यातायात अवरुद्ध

डम्मर बुढा मगर   POSTED ON : भदौ २२, २०७८ (३:५७ PM)

एक सातादेखि धौलागिरीको चार जिल्लामा यातायात अवरुद्ध

 बागलुङ । निरन्तर वर्षाका कारण गत बिहीबार रातीको आएको बाढी पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना  मध्यपहाडी राजमार्गकोे पर्वत खण्ड क्षतविक्षत भएको छ । सडकको दर्जनौँ स्थानमा पहिरोले सडकमा क्षति पु¥याएपछि अझै अवरुद्ध छ ।  धौलागिरीको मुख्य लाईफ लाइनको रुपमा रहेको राजमार्ग अवरुद्ध भए पछि यातायात सेवा ठप्प हुँदा चौतर्फी सकस र सास्ती सुरु भएको छ । 

सडक अवरुद्ध भए पछि सिकिस्त बिरामीहरुलाई दैनिक हेलिकप्टर मार्फत चर्को पैसा तिरेर उद्दार गर्नु पर्ने बाध्यता छ । पहुँच र पैसा हुनेले हेलिकप्टर चार्टर गरेर बिरामी लगे पनि आर्थिक अभावमा जीवन काटिरहेकाहरु भने घर र अस्पतालमै छटपटाउनु पर्ने अवस्था छ । चाडपर्वको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीहरुको अभाव हुन थालेको छ । 

पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढे संगै अत्यावश्य वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ । तराई लगायतको स्थानबाट आयात रोकिदाँ एक केजी हरियो बोडीलाई एक सय बढीमा खरिद गरेको उपभोक्ता हरी रानाले गुनासो गर्नुभयो ।

‘आयात छैन भने पछि स्थानीय किसानले समेत यही हो बेला भनेका छन्’ तरकारी किन्न बजार निस्कनुभएको रानाले भन्नुभयो ‘स्थानीय सरकार र प्रशासनले न त अनुगमन गरेका छन्, न यसमा ध्यान दिएका छन् । मर्कामा हामी उपभोक्ता परेका छौं, सानो बाहनामा मुल्य बढाउने ब्यापारीलाई कारबाही गर्नुपर्दछ ।’

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतको योजना अनुसार काम सम्पन्न भएमा १÷२ दिनमा सडक एकतर्फी भए पनि खुलाईने छ । तर, ठूलो पहिरो र सडक बनाएको कारण यसै भन्न सकिने अवस्था भने छैन । चामल, दाल चिनी लगायतका वस्तु स्टोर गरी राखिएको भए पनि सिमेन्ट, निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको भण्डारण खाली भइसकेको बागलुङका व्यवसायीले बताएका छन् । 

हार्डवयरमा सिमेन्ट आयात बन्द हुँदा घर निर्माणका लागि अर्डर गरिएको सिमेन्ट लगायतका निर्माण सामाग्री पठाउन नसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिनुभयो । तर, कृतिम अभाव सृजना गरी मुल्य बढाउन थालिएको उपभोक्ताको गुनासो छ ।  


तिज समेत नजिकिएको सन्दर्भमा उपभोग्य वस्तुको माग बढिरेको भएपनि आयात नहुँदा माग धान्न समस्या भइरहेको छ भने अर्कोतर्फ कार्कीनेटा हुँदै घुमाउरो कच्ची सडकबाट ल्याइएको फलफूल तथा तरकारीको दोब्बर मुल्य पर्न थालेको छ । कतिपय होलसेल तरकारी पसलहरुमा तरकारीको अभाव देखिएकाले बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले सडक बन्दले आयात ठप्प हुँदा व्यापारीले मनपरीे मुल्य बढाउन नपाइने र बजारमा छड्के अनुगमन गरिने बताउनुभयो । मुल्यवृद्धिको कहिकतैबाट गुनासो नआए पनि सम्भावित मनपरी रोक्न बजार अनुगमन गर्ने योजना बनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो । 

स्टकमा भएको सामान छैन भनेर कालोबजारी गरेको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो । ‘बाटो बन्द भन्दा साथ स्टकमा भएको सामान लुकाएर महङ्गो मुल्यमा बेचेको पाइएमा तत्काल कारबाही हुन्छ,’ उहाँले भन्नुभयो ।  

बागलुङबाट निर्यात हुने स्थानीय उत्पादन समेत बागलुङ बजारमै थन्किएको छ । बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको र चाडवाडको बेलामा मङ्गो मुल्यमा पेट्रोलियम पदार्थ कालोबजारीबाट खरिद गरी सवारी गुडाउन बाध्य भएको सवारी चालकहरुले गुनासो गरेका छन् । 

विभिन्न जिल्लाबाट काठमाडौँ, पोखरा लगायतका स्थानमा यात्रा तय गरेका यात्रुहरु बिच बाटोमै अलपत्र पर्ने अवस्था छ । सडक लामो समय नखुलेपछि पैदल यात्रा गरेर पहिरो क्रमस गरि यात्रुहरु गन्तव्यमा पुग्न बाध्य भएका छन् । बागलुङ, म्याग्दी र पर्वतबाट ७÷८ घण्टामा काठमाडौँ पुग्ने गरेकोमा पहिरोका कारण १९ घण्टा लगाएर काडमाडौँ पुगेको यात्रु गगन पुनले बताउनुभयो ।

लोकमार्गको विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध बनेका सडक । तस्बिर : हिमालय टाइम्स


Top