एक सातादेखि धौलागिरिका चार जिल्लामा यातायात अवरुद्ध

केही दिन सडक नखुले खाद्य संकट पर्न सक्ने

✍️ डम्मर बुढा मगर   POSTED ON : भदौ २३, २०७८ (५:२८ AM)

एक सातादेखि धौलागिरिका चार जिल्लामा यातायात अवरुद्ध

बागलुङ । गत बिहीबार राति आएको बाढी–पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गकोे पर्वत खण्ड क्षतविक्षत भएको छ । सडकको दर्जनौँ स्थानमा पहिरोले सडकमा क्षति पु¥याएपछि अझै अवरुद्ध छ । धौलागिरिको मुख्य लाइफ लाइनको रूपमा रहेको राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प हुँदा चौतर्फी सकस र सास्ती सुरु भएको छ । 

सडक अवरुद्ध भएपछि सिकिस्त बिरामीहरूलाई दैनिक हेलिकप्टरमार्फत चर्को पैसा तिरेर उद्धार गर्नुपर्ने बाध्यता छ । पहुँच र पैसा हुनेले हेलिकप्टर चार्टर गरेर बिरामी लगे पनि आर्थिक अभावमा जीवन काटिरहेकाहरू भने घर र अस्पतालमै छटपटाउनु पर्ने अवस्था छ । चाडपर्वको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीहरूको अभाव हुन थालेको छ । 

पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढेसँगै अत्यावश्यक वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ । तराईलगायत स्थानबाट आयात रोकिँदा एक केजी हरियो बोडीलाई एक सय बढीमा खरिद गरेको उपभोक्ता हरि रानाले गुनासो गर्नुभयो । ‘आयात छैन भनेपछि स्थानीय किसानले समेत यही हो बेला भनेका छन्’ तरकारी किन्न बजार निस्कनुभएको रानाले भन्नुभयो, ‘स्थानीय सरकार र प्रशासनले न त अनुगमन गरेका छन्, न यसमा ध्यान दिएका छन् । मर्कामा हामी उपभोक्ता परेका छौं, सानो बाहनामा मूल्य बढाउने व्यापारीलाई कारबाही गर्नुपर्दछ ।’

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतको योजनाअनुसार काम सम्पन्न भएमा १÷२ दिनमा सडक एकतर्फी भए पनि खुलाइने छ । तर, ठूलो पहिरो र सडक बनाएको कारण यसै भन्न सकिने अवस्था भने छैन । चामल, दाल चिनीलगायत वस्तु स्टोर गरी राखिएको भए पनि सिमेन्ट, निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको भण्डारण खाली भइसकेको बागलुङका व्यवसायीले बताएका छन् । 

हार्डवयरमा सिमेन्ट आयात बन्द हुँदा घर निर्माणका लागि अर्डर गरिएको सिमेन्ट लगायतका निर्माण सामग्री पठाउन नसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिनुभयो । तर, कृत्रिम अभाव सृजना गरी मूल्य बढाउन थालिएको उपभोक्ताको गुनासो छ । तिजसमेत नजिकिएको सन्दर्भमा उपभोग्य वस्तुको माग बढिरेको भए पनि आयात नहुँदा माग धान्न समस्या भइरहेको छ भने अर्कोतर्फ कार्कीनेटा हुँदै घुमाउरो कच्ची सडकबाट ल्याइएको फलफूल तथा तरकारीको दोब्बर मूल्य पर्न थालेको छ । कतिपय होलसेल तरकारी पसलहरूमा तरकारीको अभाव देखिएकाले बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले सडक बन्दले आयात ठप्प हुँदा व्यापारीले मनपरी मूल्य बढाउन नपाइने र बजारमा छड्के अनुगमन गरिने बताउनुभयो । मूल्यवृद्धिको कहीँकतैबाट गुनासो नआए पनि सम्भावित मनपरी रोक्न बजार अनुगमन गर्ने योजना बनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो । स्टकमा भएको सामान छैन भनेर कालोबजारी गरेको पाइएमा कारबाही गरिने उहाँले बताउनुभयो । ‘बाटो बन्द भन्नासाथ स्टकमा भएको सामान लुकाएर महँगो मूल्यमा बेचेको पाइएमा तत्काल कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । 

बागलुङबाट निर्यात हुने स्थानीय उत्पादनसमेत बागलुङ बजारमै थन्किएको छ । बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको र चाडवाडको बेलामा महँगो मूल्यमा पेट्रोलियम पदार्थ कालोबजारीबाट खरिद गरी सवारी गुडाउन बाध्य भएको सवारी चालकहरूले गुनासो गरेका छन् । 

विभिन्न जिल्लाबाट काठमाडौं, पोखरालगायत स्थानमा यात्रा तय गरेका यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था छ । सडक लामो समय नखुलेपछि पैदल यात्रा गरेरै भए पनि यात्रुहरू गन्तव्यमा पुग्न बाध्य भएका छन् । बागलुङ, म्याग्दी र पर्वतबाट सात/आठ घण्टामा काठमाडौं पुग्ने गरेकोमा पहिरोका कारण १९ घण्टा लगाएर काडमाडौं पुगेको यात्रु गगन पुनले बताउनुभयो ।

Top