विश्वको लामो दाबी गरिएको पुलको नाम अब ‘गण्डकी गोल्डेन ब्रिज’

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७८ (५:५९ AM)

विश्वको लामो दाबी गरिएको पुलको नाम अब ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ । बागलुङको रामरेखा र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको लामो झोलुंगे पुलको नामकरण गरिएको छ । पुलको नामकरण गर्नका लागि केही महिना अगाडि बागलुङ नगरपालिकाले सार्वजनिक आहृवान गरेको थियो । यो पुल विश्वकै लामो झोलुंगे पुलको भएको दाबी गरिएको छ । 

नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका-५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामकरण गर्ने निर्णय भएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो । 

पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट १० नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशि उपलब्ध गराउने घोषणा गरेको थियो । बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । 

पुलले एकसाथ ६१२ अर्थात् ८५ मेट्रिक टन लोड धान्न सक्छ । पुल निर्माण सम्पन्नको एक वर्ष बितेको छ । यस अवधिमा हजारौँ आन्तरिक पर्यटकहरूले अवलोकन गरेको नागरपालिकाले जनाएको छ । पछिल्लो समय निषेधाज्ञा खुलेसँगै दैनिक सयौँ आन्तरिक पर्यटकहरूको यो झोलुंगे पुलमा भिडभाड बढ्न थालेको छ । यस पुलले बागलुङसँगै धौलागिरिको पर्यटनलाई थप टेवा पुर्‍याएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।


Top