विश्वप्रेमहरूले निर्माण गरेको साहित्यिक चेतनाको आलोक र निष्ठाको पथ

युवराज पौडेल   POSTED ON : भदौ ३१, २०७८ (२:४३ PM)

विश्वप्रेमहरूले निर्माण गरेको साहित्यिक चेतनाको आलोक र निष्ठाको पथ

स्याङ्जा । स्याङ्जाको कर्मथलोमा बसेर अनवरत रूपमा जीवनको ऊर्जाशील समय राजनीति र साहित्यका लागि खर्चिनुभएका विश्वप्रेम अधिकारीका बारेमा केही लेखिएन भने सायदः आगामी पुस्ताका लागि एउटा ठुलो प्रेरणादायी पाठ छुट्छ भन्ने लागेर नै यहाँ दुईचार शब्द कोर्ने प्रयास गरिरहेको छु । साहित्य आफैमा सिर्जनात्मक कर्म हो । सिर्जनात्मक कर्म गर्ने क्षमता र रहर सबैमा हुँदैन । भए पनि त्यसको निरन्तरता कमैमा हुन्छ भन्ने कुरा हामी सबैका लाग िसर्वविदित विषय हो नै । 

विश्वप्रेम अधिकारीका बारेमा मैले पहिलो पटक स्नातकोत्तरमा पढ्दै गर्दा एक जना स्याङ्जाली प्राध्यापक गुरुका मुखबाट लोकसाहित्यको चर्चा गर्ने क्रममा सुनेको थिएँ । त्यसपछि स्नातकोत्तर शोध (एमए) गर्ने क्रममा पृथ्वीनारायण क्याम्पसको पुस्तकालयमा उहाँका बारेमा शोध गरिएको जीवनीमूलक शोध ग्रन्थ पढ्ने अवसर प्राप्त गरेको थिएँ । त्यो पढेपछि मलाई आफ्नै जन्मथलोका यति ठुला विद्वान् श्रष्टाका बारेमा राम्रो जानकारी हासिल नगरेकोमा आफ्नै स्वभाव र शैलीप्रति पश्चातापको भाव मनमा जन्मिको थियो ।  

मैले राम्रोसँग उहाँसँग कुराकानी गर्न उहाँको घरमा पुग्दै गर्दा दर्शानाचार्य (एमफिल) तह राम्रै ग्रेडमा उत्तीर्ण गरेको प्रमाणपत्र लिइसकेको थिएँ । म भाषा र साहित्यमा एम.फिल. गरेको भनेर छाती फुलाउँदै उहाँलाई भेट्न गएको थिएँ । कपाल सेतै फुलेका, गोरो वर्णका, पातलो शरीरका अधिकारीलाई भेट्दा मैले यस्तो बुढाले के पो जानेका होलान् भन्ने ठानेको थिएँ । जब हाम्रो कुराकानी भाषा साहित्यमा केन्द्रित भएर अगाडि बढ्दै गयो, मेरो ‘एमफिल’ त क्षणभरमै भुत्ते भइहाल्यो । मेरो एमफिल नाथे हुँदै गयो । म त उहाँका अगाडि ज्ञानका हरेक क्षेत्रमा कमजोर सावित हुँदै भित्रभित्रै हीनताबोधमा रुमलिँदै गएँ । उहाँसँगको संवादमा सोच्दै नसोचेका ज्ञानका पत्रहरू एकपछि अर्को उघ्रिँदै जाँदा मलाई साँच्चै स्याङ्जामा पनि यस्तो मान्छे रहेछ भन्ने पहिलो पटक बोध भएको थियो । 


म स्कुल पढ्दा मेरो बुबाले अगेनाको डिलमा आगो ताप्दै राङखोलाका शिवकुमार अधिकारी र विश्वप्रेम अधिकारीका बारेमा ठुलाबुबाहरूसँग कुरा गरेको मलाई स्मरण छ  । त्यो आज पनि मेरो मानसपटलमा बिम्बका रूपमा जीवितै छ । त्यतिबेला बुबाले उहाँको साहित्यिक आयामका बारेमा नभई राजनैतिक आयामका बारेमा कुरा गर्नुभएको रहेछ किनभने २०३१ सालको बम काण्डमा उहाँको योगदानदेखि पञ्चायत विरोधी आन्दोलन र प्रजातन्त्रका पक्षमा उहाँका दाजुभाइको अविचलित निष्ठाको कुराको चर्चा त्यतिबेलादेखि आजसम्म स्याङ्जाली भूमिमा कुनै न कुनै रूपमा भइ नै रहेको देखिन्छ । 

१८ महिनासम्म प्रजातन्त्रका लागि कष्टकर जेल जीवन भोग्नुभएका विश्वप्रेमको राजनीति कहिल्यै पद प्राप्तिका लागि भएन । उहाँ राजनैतिक परिवर्तनकै लागि शिक्षक पदलाई समेत छाडेर लोकतान्त्रिक अधिकार प्राप्तिका लागि पूर्ण रूपमा होमिनुभएको थियो । त्यसपछि उहाँले कहिल्यै कसैलाई जागिर लगाइदिन हात जोड्ने काम गर्नुभएन । बरु उहाँ अझै स्वाभिमान र निष्ठाको जीवन बाँच्दै जानुभयो । जति जग्गा जमिन भए पनि नियमित आम्दानीको श्रोत नभएपछि खर्च चलाउन गाह्रो त भए होला, तर अधिकारीले जति नै गाह्रो भए पनि हाँसीहाँसी त्यसलाई सामना गरेर अघि बढ्नुभयो । बरु एकसरो कपडाले वर्षौं बिताउनु भयो होला तर स्वाभिमानका लागि आत्मा र प्रतिष्ठा बेच्ने काम विश्वप्रेमले कहिल्यै गर्नुभएन । सायद त्यतिबेला उहाँले ‘भौतिक प्राप्ति नै सबैथोक हो’ भनेर लागेको भए आज उहाँ आर्थिक रूपमा माथिल्लो हैसियतमा पुग्नुहुन्थ्यो होला तर स्याङ्जाली साहित्य र स्याङ्जाली लोकतान्त्रिक आन्दोलनले उहाँबाट जे पाइराखेको छ, त्यो कदापि सम्भव हुन्थेन । 

स्याङ्जा साहित्य प्रतिष्ठान वि.सं. २०५२ सालमा खोलेर लगभग साहित्यिक गतिविधिमा निकै पछि रहेको स्याङ्जामा साहित्यको वैशाखी फूल फूलाउने प्रथम प्रयास उहाँबाटै भएको हो । स्याङ्जाको राङखोलामा बसेर अधिकारीले यो संस्थालाई आजसम्म धानिरहनुभएको छ । यस संस्थाले २०५५ सालबाट ‘रजस्थल’ त्रैमासिक साहित्यिक पत्रिका निकाल्दै आएको छ । 

यसले स्याङ्जामा कवि गोष्ठी गर्ने परम्पराको थालनी गरेर नवोदित कविहरुका लागि एउटा नयाँ प्लेटफर्म निर्माण गरिदिएको छ । लेखनाथ जयन्ती, लक्ष्मी जयन्ती, सम जयन्ती जस्ता अवसरहरुमा विभिन्न साहित्यिक गोष्ठीहरु सञ्चालन गरेर साहित्यिक वातावरण निर्माण गरिरहेको प्रतिष्ठानले २०५३ सालबाट कालीगण्डकी साहित्य–कला पुरस्कार प्रदान गर्ने परम्परा सुरुवात गर्दै कला र साहित्यमा सुकर्म गरिरहेका स्रष्टा, लेखक, कलाकारहरुलाई सम्मानित गर्ने संस्कारको निर्माण गरेको छ । यस प्रतिष्ठानले स्याङ्जाको मोफसलमा रहेर आजसम्म ८५ औं अङ्क निकाल्न सफल भएको छ, जसका लागि संस्थापक विश्वप्रेमजीकै लगाव सबैभन्दा उत्साहजनक छ भने यस प्रतिष्ठानका ऊर्जाशील अन्य थुप्रै साहित्यकार लेखकहरुको पनि उत्तिकै योगदान रहेकै छ । स्याङ्जामा साहित्यको परिवेश निर्माणमा देवीप्रसाद बनबासी, चिन्तु गिरी, देवेन्द्र लम्साल, महेश्वर शर्मा लगायतका थुप्रै स्रष्टाहरूको अविस्मरणीय योगदान रहेको छ । 


 

स्याङ्जा साहित्य प्रतिष्ठानले प्रकाशित गर्ने ‘रजस्थल’ त्रैमासिकले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदान अविस्मरणीय छ । जिल्लाको परिवेशमा बसेर त्रैमासिक पत्रिका निरन्तर छपाइरहनु र पाठकामाझ पु¥याइरहनु भनेको आँफैमा सजिलो विषय पक्कै होइन । साहित्यिक पत्रिका भनेपछि नाक खुम्च्याउने र पैसा तिरेर पढ्ने भनेपछि दस हात पर सर्ने प्रवृत्ति भएका बेलामा पनि उहाँ र उहाँको प्रतिष्ठानको टिम कहिल्यै विचलित भएन । झोलामा ‘रजस्थल’ पत्रिका बोकेर निशुल्क रुपमा पनि उहाँले साहित्यानुरागी पाठकको घरमै समेत पत्रिका पु¥याइदिनुभयो । 

अझ अच्ममको कुरा के छ भने ७५ वर्षको उमेरमा पनि उहाँमा जुन जोस र ऊर्जा छ, अनि साहित्यप्रतिको जुन लगाव छ, त्यो सायद कमै मात्र मान्छेमा हुन्छ होला । ७५ वर्षको सेतै कपाल फुलेको वृद्ध मान्छेको लेखन र साहित्यिक क्रियाकलापहरूमा देखिने सक्रियता हेर्ने हो भने भर्खरको मै हुँ भन्ने कुनै नौजवानको भन्दा कुनै दृष्टिकोणबाट पनि कम देखिँदैन । अझै उहाँमा लेखनको भोक छ, प्रकाशनको भोक छ, साहित्यको भोक छ । उहाँ समाजलाई साहित्यको माध्यमबाट अनुशासन, नैतिकता र प्रजातान्त्रिक संस्कार सिकाउन चाहनुहुन्छ । नेपाली लोकजीवनको समृद्ध परम्पराका नउघ्रेका क्षितिजलाई उघारेर तिनका सौन्दर्यात्मक मूल्यहरूलाई नेपाली जनजीवनमा पस्कन चाहनुहुन्छ । 

१३ वर्षको उमेरमा कक्षा २ मा पढ्ने एउटा बच्चो दाइका पछि लागेर सतौंल पुलको मुखमा पुग्छ, जतिबेला विश्वेश्वरप्रसाद कोइराला स्याङ्जामा पार्टीको जिल्ला अधिवेशनका लागि आउनुभएको हुन्छ । त्यतिबेला मातृभूमिको विद्यालयमा पढ्ने थुप्रै विद्यार्थीमध्ये उहाँका दाजु शिवकुमार अधिकारी तीक्ष्ण बुद्धिका प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिनुहुँदो रहेछ । दुवै दाजुभाइ बसिरहेका बेलामा मातृभूमिका प्रधानाध्यापक निलमकुमार शाहीले ‘यो केटो हाम्रो विद्यालयको गहना हो, जहिले पनि प्रथम हुने असाध्य प्रतिभाशाली विद्यार्थी हो’, भनेर दाजु शिवकुमारलाई वीपीसँग चिनाउनुभएछ । वीपीले त्यो पातलो पातलो कदको, सेतो वर्णको टाठो बच्चा शिवकुमारलाई जिउमा धाप मार्दै मुसार्न थाल्नुभएछ । वीपीले दाजुलाई गरेको माया र सरल व्यवहारले भाइ विश्वप्रेमको मनमा गहिरो प्रभाव पारेछ । त्यति ठुलो नेताको एउटा बच्चाप्रतिको त्यो सद्भाव र प्रेम देखेर बालक विश्वप्रेमलाई अचम्म लागेछ र पछि आफू पनि दाइ जस्तै भएर त्यसरी नै वीपीको काखमा बस्ने रहर पलाएको रहेछ । यसले उहाँको बाल्यकालीन मानसपटलमा वीपी र उनको प्रजातान्त्रिक समाजवादप्रति सकारात्मक छाप बसालेको रहेछ । 

 

पञ्चमुलको भाषा पाठशालमा संस्कृतका ‘कखरा’ चिनेर अमरकोश, लघु कौमुदी आदि पढेर उहाँ थप अध्ययनका लागि दाजुको साथ लागेर बनारस पुग्नुभयो । बनारसमा अध्ययनका लागि जाने तत्कालीन थुप्रै समकालीनहरू दिनबन्धु अर्याल, मित्रबन्धु अर्याल, दाजु शिवकुमारलगायत थुप्रै सहपाठीहरूसँगै उहाँ पनि त्यहाँ पुग्नुभएको थियो । उहाँले वाराणीसेय संस्कृत विश्वविद्यालयअन्तर्गतबाट इन्टरमिडिएट उत्तीर्ण गरी शास्त्री पनि पढ्नुभयो । 

उहाँ बनारसमा अध्ययनका क्रममा भएका बेला यता नेपालमा राजनैतिक उथलपुथल भएको थियो । तत्कालीन राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिँदै जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालगायतका नेतालाई जेल हालेका थिए । यसको प्रतिक्रयास्वरूप बनारसमा पढ्ने अधिकारीलगायतका विद्यार्थीहरूले राजा महेन्द्रको पुत्ला दहन गर्नुभएको थियो । पञ्चगङ्गामा मोदनाथ प्रश्रितसहितको विरोध कार्यक्रममा सहभागी भएर स्वतन्त्रता र लोकतन्त्रका पक्षमा अधिकारीले आफ्नो पक्षधरता प्रस्तुत गर्नुभएको थियो ।  

विश्वप्रेम अधिकारीको बनारस अध्ययनकालबाटै पलाएको त्यो लोकतान्त्रिक चेतना भारतीय स्वतन्त्रता सङ्ग्राम र नेपालमा प्रजातन्त्रको लडाइँ चलिरहेका अवस्थामा झनै सशक्त भएको थियो । विश्वप्रेमले छदम नामबाट पञ्चायत सरकारका निरङ्कुश कदमको बौद्धिक तरिकाले प्रतिवाद गर्नुभयो । उहाँ निरङ्कुशताका विरुद्ध डराउने र सम्झौता गर्ने बाटोमा कहिल्यै लाग्नुभएन, बरु भारतमा वीपी, जवाहरलाल नेहरु, गान्धीहरूले देखाएको शान्ति, अहिंसा र लोकतन्त्रको आदर्शलाई मुटुमा सजाएर बलीवेदीमा चढ्न तयार भइरहनुभयो । 

अधिकारीले बनानरसबाट आफै संस्थापक भएर खोलिएको ‘कल्याणी’ पत्रिकामा आफ्नो पहिलो छन्दोबद्ध कविता ‘गुलाब’ वि.सं. २०१८ सालमा प्रकाशित गरेर आफ्नो साहित्यिक यात्राको शुभारम्भ गर्नुभएको थियो । अधिकारीहरूले ‘उदास’, ‘सङ्गालो’ जस्ता पत्रिका निकाल्ने र तिनमा आफ्ना रचनाहरू प्रकाशित गर्ने एउटा परम्परा बसाल्नुभएको थियो ।

साहित्यका कविता, कथा, निबन्ध र शोधमूलक काममा सक्रिय रहेका अधिकारीका ‘पोखिएका कनिका’ (२०२५), ‘मेरी छोरी’ (२०४९), ‘बन्दीको मनस्थिति’ (२०५२), ‘संकल्प’ (२०५५), ‘अचाडू मनका स्वरहरू’ (२०६१), ‘काव्यत्रयी’ (२०७३), ‘कविता र काव्यसङ्ग्रहहरू’, ‘आँधीखोले लोकसंस्कृति र लोकगीत’ (२०५७), ‘पश्चिमाञ्चल लोकगीत र परम्परा’ (२०५८), ‘आँधीखोले लोकसाहित्य प्रस्तुति र विश्लेषण’ (२०५९), बालसाहित्य ‘झारबुटी’ (सम्पादन, २०६१), ‘सम्झनाका बिम्बहरू’ (निबन्ध सङ्ग्रह २०७१), ‘खोजमूलक रचनाहरू’ र ‘टिमुरको झोल’ 

(२०७४) कथा सङ्ग्रह प्रकाशित छन् । उहाँले स्याङ्जाका साहित्यकारहरूका बारेमा खोजमूलक सामग्री तयार गरी मातृभूमिप्रतिको अभिभारा पनि पूरा गर्नुभएको छ । स्याङ्जा, कास्की, पर्वत अझ गण्डकी र धौलागिरी अञ्चलका लोकसाहित्यका विविध लुकेका पक्षहरूलाई उहाँले पहिलो पटक उद्घाटन गरिदिनुभएको छ जसले तिनका बारेको थप अध्ययनको ढोका उघारेको छ । उहाँले पश्चिम क्षेत्र गण्डकी र धवलागिरी क्षेत्रका थुप्रै भाषिका, गीत, उखान, टुक्का, बोलीचालीका सन्दर्भहरूलाई बाहिर ल्याउने काम गर्नुभएको छ । 

बनारसबाट फर्केदेखि नै उहाँलाई पञ्चायत सरकारले प्रतिबन्धित दलको सक्रिय नेता तथा बुद्धिजीवीका रूपमा शत्रुतापूर्ण व्यवहार गरिरहेको थियो । उहाँको घर कयौं पटक खानतलासी गर्ने लगायतका अनेक काम गरी दुःख र हैरान पार्ने काम गरेको थियो । स्याङ्जाको कुरा गर्दा विश्वप्रेम अधिकारी, शिवकुमार अधिकारी, वेदप्रसाद पनेरु, स्थानेश्वर पौडेल, तारापति सुबेदी, श्रीप्रसाद जिटी, खगेन्द्र रेग्मीहरूको जुन समय थियो, त्यो मूल्य, मान्यता र आदर्शको स्थापनाका लागि महान् त्यागको समय थियो । अधिकारीहरूजस्ता लोकतान्त्रिक योद्धाहरू सुन्दर समाज र राष्ट्र अनि स्वतन्त्रता र समानताका लागि जीवन बलिदान गर्न वा उत्सर्ग गर्न तमतयार भएर दनदनी बलेको भीषण ज्वारभाटामा हामफाल्नुभएको  थियो । 

आज मान्छेमा सिद्धान्त र विचारको निष्ठामा अडिनुभन्दा क्षणिक भौतिक प्राप्तिको नाफाघाटामा जीवनलाई डो¥याउने पूँजीवादी वैश्विक सोचले प्रभाव पारिरहेको छ । उत्तर आधुनिक चिन्तनका अनेकौं बाछिटाहरू हाम्रा समाजमा देखिइरहेका छन् । हिजोका आदर्श, मूल्य, संस्कार र त्यागका गाथाहरू नयाँ पुस्ताका लागि अरुचिका विषय बनिरहेका छन् । आसेपासे पूँजीवाद र कर्पोरेट लोकतन्त्रले नेपालमा कर्म गर्नुभन्दा मागेर तथा ठगेर खाने कुरा बढी सिकाएको छ । विश्वप्रेमहरूले वर्षौ जेलका छिंडीमा बिताएर ल्याएको लोकतन्त्रलाई पछिल्लो समय सीमित वर्गको स्वार्थ पूर्तिको जलपी  औजारका रूपमा प्रयोग गर्न थालिएको छ । मूल्य, मान्यता, संस्कार र कर्तव्यबोध गराउने सङ्कथन निर्माण गर्ने कुरातिर नेपाली राजनीति सधैँ चुकिरहेकै छ । आशा छ, विश्वप्रेमहरूले देखाएको ज्ञानको आलोक वा निर्माण गरेको लोकतान्त्रिक चेतनाको उज्यालो द्वीप स्याङ्जाली धर्तीमा कहिल्यै निभ्ने छैन । अधिकारीहरूले निर्माण गरिदिएको स्याङ्जाली साहित्यको फराकिलो राजमार्गमा नयाँ नयाँ पथिकहरूले फन्को मारिरहून् । हार्दिक शुभेच्छा । 


Top