एकीकृत बस्ती तयार भएको पाँच महिना बित्दा पनि पाएनन् पीडितले घर

डम्मर बुढा मगर   POSTED ON : आश्विन १, २०७८ (५:३४ AM)

एकीकृत बस्ती तयार भएको पाँच महिना बित्दा पनि पाएनन् पीडितले घर

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-५ काउलेका १० दलित परिवारका लागि सापकोटा चोकमा एकीकृत बस्ती निर्माण गरिएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्‍याएको बस्तीको पुनर्निर्माण गरिए पनि आर्थिक वर्ष २०७७/७८ मै भूकम्प पीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् । 

२०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रति पीडित परिवार दुई लाख रकमसमेत दिइएको थियो । घर बनेको ६ महिना पुग्दासमेत घरमा सर्न नपाएको चिन्ते दमाईंले बताउनुभयो । २०७२ सालको भूकम्पले कमजोर बनाएको घर २०७५ सालको भूकम्पले बस्न नमिल्ने अवस्था पुगेको थियो । घर चर्किएर विस्थापित भएपछि चार वर्षसम्म धेरै दुःखले बसेको दमाईंको गुनासो छ । वैशाखमा नयाँ घर पाउने भनिए तापनि अहिलेसम्म घर दिने केही कुरा नभएको दमाईं बताउनुहुन्छ । 

शिवधुरी एकीकृत नमुना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाईं भएको र त्यहीँ विषयले समस्या पैदा भएको बताउनुभयो । बागलुङको एकीकृत बस्तीका लागि आएको रकम लमजुङ पठाएकै कारणले अहिलेसम्म बस्ती निर्माण सम्पन्न नभएको दर्जीको भनाइ छ । 

बस्तीमा आउने बाटो, सभाहल र वालका लागि ४० लाख बजेट आउने भनेर काम गरे तापनि अहिलेसम्म सात लाख रुपैयाँ आएकाले त्यसबराबरको काम मात्र सम्पन्न भएको दर्जी बताउनुहुन्छ । ‘घर निर्माण भए पनि हस्तान्तरण नहुँदा स्थानीयले समस्या झेलिरहेको उहाँको भनाइ छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रेणुका कुमारी पाण्डेले भूकम्पले विस्थापित भएका काउलेका भूकम्प पीडितको घर निर्माण गरिसकेको जानकारी दिनुभयो । भवन निर्माण कार्य सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्पपीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उहाँको भनाइ छ । 

एकीकृत बस्ती निर्माण समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिए तापनि बस्तीमा शौचालय निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाइ भएको पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार असार मसान्तभन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो । 

आर्थिक वर्ष ०७७÷०७८ मा एकीकृत बस्ती निर्माणको लागि आएको रकम काम समयमा सम्पन्न नभएर फिर्ता भइसकेको र राष्ट्रिय पुनःनिर्माणको असार मसान्तपछि काम सकिने भएका कारण अहिलेको अवस्थामा तेस्रो किस्ता मन्त्रालयबाटै नआएको पाण्डे बताउनुहुन्छ । अहिलेसम्म केन्द्रबाट बिहँु काउलेको एकीकृत बस्तीलाई कसले हस्तान्तरण गर्ने भनेर माथिबाट पत्र नआएका कारण बस्ती हस्तान्तरण गर्न नमिलेको पाण्डे बताउनुहुन्छ । 

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ आफैँ अन्योलमा छ । मन्त्रालयबाट पत्र आएको खण्डमा भदौभित्र नै जिल्लाको पुनर्निर्माण कार्यालय बन्द हुनेछ । त्यसकारणले आफू स्वयं गएर पटक÷पटक एकीकृत बस्ती निर्माण समितिलाई असार मसान्तभित्र काम सकेमा सबै रकम भुक्तान गर्न सकिने भनेर जानकारी गराए पनि ढिलासुस्तीले अहिले एकीकृत बस्ती हस्तान्तरण गर्न नसकिएको पाण्डेको दाबी छ ।

बस्तीभित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर ४० लाख बजेट आएको थियो । तर, एकीकृत बस्ती निर्माण समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको पाण्डेको भनाइ छ । भूकम्पका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा दजर्नौँ घर भत्किएका थिए भने सयौँमा आंशिक क्षति पुगेको थियो ।


Top