ढोरपाटन सिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्ने तयारी

डम्मर बुढा मगर   POSTED ON : आश्विन १, २०७८ (५:५२ PM)

ढोरपाटन सिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्ने तयारी

 बागलुङ । नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । रहेक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि कम्पनीले दरभाउ पत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भदौ १७ गतेदेखि असोज १ गतेसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । विभागका अनुसार नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिज सिकार कम्पनीले बोलपत्रमा भाग लिएका छन् । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् ।

प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक सिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । ‘हरेक वर्ष सिकार खेल्नकालागि प्रतिस्पर्धाबाट छानिएका कम्पनीले तोकिएको कोटा अनुसार आरक्षमा शिकार गराउन पाउँछन्’ आचार्यले भन्नुभयो ।

सिकार आरक्षमा प्रत्येक वर्षको (असोज–मङ्सिर) पहिलो सिजन र (फागुन–वैशाख) दोस्रो गरी दुई सिजनमा सिकार खेल्न अनुमति दिने गरिन्छ । यहाँ विषेश गरी नाउर र झारलको सिकार खुला हुने गर्छ । बोलपत्रको प्रक्रिया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो । हरेक वर्ष असोज दोस्रो सातादेखि सिकार सिजन सुरु हुन्छ र सिकारीहरु सिकार खेल्न ढोरपाटन आउने गर्दछन् ।

गत वर्ष पहिलो सिजन कोरोनाको कारण केही ढिलो सिकार खुलेको थियो । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित सिकार खुला गरिएको थियो । त्यसैगरी दास्रो सिजन (फागुन–चैत) मा भने नौ नाउर र चार झारलको सिकार गरिएको थियो । विभागले अनुमति दिएको मध्ये एउटा मात्र झारलको सिकार हुन नसकेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।

खड्काको अनुसार विभागले दुवै यसिजनमा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्ने गर्छ । सिकारको सबै काम विभागम ार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ ।  सिकार कम्पनी बीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।

तीन वर्ष अघि (फागुन–वैशाख) को सिजनमा एउटा नाउर सिकारको रु १३ लाख ५१ हजार र झारल सिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए । अहिले कोरोना महामारीको जोखिम घटेको, यात्रा प्रतिबन्ध पनि हटेको स्थितिमा विदेशी सिकारका लागि ढोरपाटन आउन आतुर छन् । फलस्वरुप बोल भाउपत्रमा प्रतिस्पर्धा हुने देखिएको छ ।

सिकार खेलाएर आरक्षले वर्षेनी कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ। व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तीबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ। सिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउने गर्छन्। सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् ।

सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन्। सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन्। सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

विसं २०४४ मा स्थापना भएको आरक्ष देशकै एक मात्र वैधानिक सिकार गन्तव्य हो । १,३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । ढोरपाटनमा विषेश गरि स्वदेशीभन्दा विदेशी सहासिक सिकारीहरु सिकार खेल्न आउने गरेका छन् । उनीहरुले ट्राफिक जित्न र मनोरञ्जनका लागि सिकार खेल्न ढोरपाटन आउने गरेको पाइन्छ ।

ढोरपाटनमा सिकार खेल्न आएका विदेशी सिकारी । तस्बिर : हिमालय टाइम्स


Top