गलेश्वर मन्दिरमा पित्तलको छानो

धु्रबसागर शर्मा   POSTED ON : आश्विन ६, २०७८ (१:३१ PM)

गलेश्वर मन्दिरमा पित्तलको छानो

म्याग्दी । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखिएको छ ।

बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम सकिएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । 

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु ५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका छन् । उनका बुबा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । 

कुल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी छुट्याएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन कोषले गर्दै आएको थियो ।

पित्तलले छाएपछि आकर्षक देखिएको छ । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको थियो। मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भइरहेको छ।


Top