बेनी नगर सभापतिमा बोगटीको उम्मेदवारी घोषणा

ध्रुबसागर शर्मा   POSTED ON : आश्विन ६, २०७८ (५:५७ PM)

बेनी नगर सभापतिमा बोगटीको उम्मेदवारी घोषणा

म्याग्दी । म्याग्दीमा नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । 

बोगटीले शनिबार एक कार्यक्रमका विच  असोज ९ गते हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

 बोगटीसंगै उहाँको समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गरेका छन् । बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मानकाजी घिमिरे, सचिवमा ज्ञनेन्द्रकुमार श्रेष्ठ र रणबहादुर शाही,सहसचिवमा शान्ति शर्मा पौडेल र शानिमाया कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा काँग्रेसका पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बानियाँ,नगर सभापति अनोद श्रेष्ठ र हालै मात्र निर्वाचित भएका ९ वटा वडाका वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता थियो ।

 बोगटीको समुहलाई बानियाँको समर्थन छ । नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गरेका बोगटी प्रखर वक्ता समेत मानिनु हुन्छ । बेनी नगरपालिका– १, रत्नेचौर निवासी बोगटी २०६५ सालको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार हुनु हुन्थ्यो । त्यसपछि बोगटी निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय छन्  । केही वर्ष सञ्चार क्षेत्रमा काम गरेका बोगटी युवा माँझ लोकप्रिय समेत हुुनुहुन्छ ।

कार्यक्रममा पूर्व सभापति बानियाँले नेपाली काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवाको नेतृत्व आवश्यक भएको बताउनु भयो । निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बोगटीले बताउनु भयो । ‘कांग्रेसमा अहिले डनबाद र धनवाद मौलाउँदै गएको छ’, उहाँले भन्नुभयो ,‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो र संस्थागत रुपमाबाट पार्टी सञ्चालन गर्न मेरो समुह नेतृत्वका लागि आघि सरेको हो ।’

कार्यक्रममा वडा अधिवेशनमा बेनी नगरपालिकाभित्रका नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरिएको थियो ।

कांग्रेसको महाधिवेशन अन्तर्गत गाउँ÷नगर अधिवेशन असोज ९ ,प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ गते हुँदैछ भने प्रदेश अधिवेशन कात्तिक १० ,११ र १२ तथा केन्द्रिय महाधिवेन मंसिर ९,१०, ११, १२ र १३ हुने कार्यतालिका रहेको छ । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।



Top