पूर्व सांसद रुद्रमान गुरुङकी बुहारीद्वारा उम्मेदवारी घोषणा

युवराज पौडेल   POSTED ON : आश्विन ६, २०७८ (७:१५ PM)

पूर्व सांसद रुद्रमान गुरुङकी बुहारीद्वारा उम्मेदवारी घोषणा

स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाका नेता तथा पूर्व सांसद स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङकी बुहारी उर्मिला गुरुङ काङग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि उहाँले उम्मेदवारीको घोषणा गरेसँगै उहाँको राजनैतिक ‘इन्ट्री’ भएको छ । 

उहाँले स्याङ्जा जिल्ला क्षेत्र नं १ को ‘ख’ को प्रदेश अधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । स्व.क्याप्टेन रुद्रमान गुरुङका एक मात्र छोरा जापानमा बस्दै आउनुभएको छ भने बुहारी गुरुङकै योगदानमा सुरु गरिएको सिरुबारी होमस्टेमा नवयुवा क्लबकी सचिव भएर बुबाको सपना साकार पार्ने प्रयासमा जुट्नुभएको छ । 

बुबाको सपना राजनीति र समाजसेवा भएकाले बुबाको होमस्टे सपना पूरा गर्नका लागि काम गरिरहे पनि राजनीतिमा भने आफू अहिलेसम्म बाहिर सक्रिय भएर हिँड्न नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुबाले सांसद भएर आफ्नो ठाउँबाट धेरै काम गर्नुभएको थियो । जिल्लामा खानेपानीका थुप्रै आयोजनाहरु उहाँले नै पहल गरेर सम्पन्न भएका थिए । बुबाले राजनीतिलाई निस्वार्थ सेवाभावका दृष्टिमा लिनुभएको थियो ।’ 

उर्मिलाले भन्नुभयो, ‘परिवारमा बुबाको राजनैतिक इतिहासलाई जोगाउने कोही नभएपछि म आफैं अगाडि सर्नुपर्ने स्थिति भयो ।’ उहाँले थप भन्नुभयो, ‘बुबा रुद्रमान वीपीको समाजवादबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको थियो । म बुबाको समाजसेवाको भावबाट प्रभावित छु ।’ 

उहाँले होमस्टेको काम र गृहस्थीको बोझले आफू राजनीतिमा प्रवेश गर्ने इच्छा भएर पनि समय नपाएको बताउँदै आगामी दिनमा विस्तारै राजनीतिमा पनि सक्रिय हुँदै जाने अवस्था बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबका दिनमा बुबाको राजनैतिक सपना पूरा गर्ने दिशामा पनि म लाग्नेछु ।’ उहाँ गुट उपगुटमा नलागेको एकताबद्ध काङ्ग्रेस देख्न चाहनुहुन्छ ।

दक्षिण एसियाकै पहिलो होमस्टे सिरुबारी होमस्टेका नायकका रूपमा परिचित रुद्रमान गुरुङको पारिवारिक विरासतबाट प्रभावित भएर आफू राजनीतिमा प्रवेश गरे तापनि आफू आफ्नै काम र मिहिनेतले अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । उहाँले चौधौं महाधिवेशनमा काङ्ग्रेसले युवा, महिला र दलित तथा जनजाति समुदायलाई बढी जिताउनुपर्ने पनि बताउनुभयो । 

आफूलाई आँधीखोला गाउँपालिकाले साझा उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको भएकाले आफ्नो जित सुनिश्चित भएको उनले बताइन् । उहाँले भन्नुभयो, ‘म कुनै गुटको उम्मेदवार नभएर काङ्ग्रेसको उम्मेदवार हुँ । मलाई गुट र प्यानलका बारेमा केही थाहै छैन ।’


Top