बागलुङमा बाढीले दुई घर पुरियो, नौ परिवार विस्थापित

डम्मर बुढा मगर   POSTED ON : आश्विन ७, २०७८ (५:२६ AM)

बागलुङमा बाढीले दुई घर पुरियो, नौ परिवार विस्थापित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा भलसहितको बाढीले दुई घर पुरिएका छन् । मंगलबार राति परेको अविरल वर्षतपछि ठाडो खोल्सामा आएको भलसहितको बाढी बस्तीमा पसेपछि अन्य नौ परिवार विस्थापित भएका छन् । बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर बगाएर पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो । राति १ बजे ठाडो खोल्सा माथिबाट आएको बाढी उहाँहरूको घरभित्र पसेको थियो । बाढीले घर पुरिए पनि मानवीय क्षति भएको छैन । 

बाढी आएर बस्तीमा पसेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली तत्काल उद्धारमा खटिएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो । बाढीले पूर्ण क्षति पु¥याएको तमबहादुर महतको घरमा अन्य तीन परिवारहरू घरभाडामा बस्दै आएको पाइएको छ ।

महतको घरमा बस्दै आउनुभएका गोमा छन्त्याल, मानबहादुर कुँवर र सरिता विकको परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो । बाढीले स्थानीय देविराम अर्याल, बुद्धिराम विक, खिमबहादुर गौतम, मनिसरा पुन, चमलाल घिमिरे, अमर विक र प्रेमबहादुर शाहीको घरमा भने आंशिक क्षति पुगेको ढोरपाटन नगरपालिका–२ का वडा अध्यक्ष युवराज महतले बताउनुभयो ।

बाढीका कारण करिब ४० लाख बराबरको आर्थिक तथा भौतिक क्षति पुगेको प्रहरी निरीक्षक वन्तले जानकारी दिनुभयो । तत्कालको लागि राहतसहित ढोरपाटन नगरपालिकाको टोली पीडितहरूको बस्तीमा पुगेको छ । बाढीले सालझण्डी–ढोरपाटन सडकसमेत अवरुद्ध बनाएको थियो । 

आफूहरू राति सुतेको बेला घरमाथिबाट बाढी आएको बाढीपीडित तमबहादुर महत बताउनुहुन्छ । उहाँले बाढीले आफ्नो घरसँगै लत्ता कपडा लगायतका सामग्रीसमेत पुरिएको बताउनुभयो । ‘राती १ बजेतिर बाढी आयो, हामी त निदाएका रैछौँ थाहा पाएनौँ, पछि पानीभित्रै छिरेपछि मात्रै थाहा भयो,’ महतले भन्नुभयो, ‘हामीलाई त केही भएन तर बस्ने बासनै सखाप बनाइदियो ।’

महतले बाढीले घर पुरिएदिएपछि आफ्नो बस्ने ठाउँ अन्त कतै नभएको बताउनुभयो । वर्षातको समयमा पालभित्र बस्नुपर्ने अवस्था आएको भन्दै आफूहरूको विचल्ली भएको उहाँ बताउनुहुन्छ । ‘भएको यही घर पनि बाढीले पुरिदियो, अब कहाँ बस्ने, कहाँ खाने, विजोग भयो हजुर हाम्रो त,’ महतले निराश हुँदै भन्नुभयो, ‘अब त्रिपालभित्र बस्नुको विकल्प छैन, बस्ने ठाउँ पनि यहीँ हो फेरि यहीँ आएर पुरिने हो कि भन्ने डर, दशा लाग्यो ममाथि ।’

बाढीले गोपीराम विकको आरन व्यवसायसमेत पुरिदिएको छ । लामो समयदेखि तारीखेतमा आरन व्यवसाय गर्दै आउनुभएका विकको छाप्रो नै पुरिदिँदा लाखौँको क्षति भएको उहाँको भनाइ छ । बाढीले तारीखेतदेखि बुर्तिबाङ बजार जोड्ने झोलुं्गे पलमासमेत क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । 

बस्तीमाथि अव्यवस्थित रूपमा सडक निर्माण गर्दा बस्ती नै जोखिममा परेको बाढीपीडित खिमबहादुर रसाइलीले बताउनुभयो । उहाँले सामान्य नापजाँच पनि नगरी मनोमानी रूपमा सडक निर्माण गर्दा आफूहरू घरवारविहीन हुनुको साथै सिंगो बस्ती नै धरापमा परेको बताउनुहुन्छ ।

‘बस्तीमाथि थुप्रै सडकहरू खनिएको छ, खनिएका सडकहरू सबै अस्तव्यस्त छन्, त्यसको प्रभाव अहिले हामीमाथि पर्‍यो, सडक निर्माण गर्दा अलिकति ध्यान दिएको भए, व्यवस्थित रूपमा निर्माण गरेको भए अहिले यो अवस्था आउने नै थिएन,’ मनपरी रूपमा सडक खन्ने, न नाली निर्माण छ, न नापजाँच छ, अहिले हामीलाई घरबासविहीन हुनुपर्‍यो ।’

त्यस बस्तीमाथि सालझण्डी-ढोरपाटन सडक, अर्नाको, अर्नाक, खल्बाङ, कुत्थाप्ला, मस्ती, चौर लगायतका ठाउँमा जोड्ने सडक निर्माण भएका छन् । तिनै सडक भत्किएर भलसहित आउँदा घर पुरिएको स्थानीयको भनाइ छ । त्यसलाई तत्काल थप व्यवस्थापन नगरे तारीखेतका अन्य घरहरू पनि बाढीमा पर्न सक्ने बताइएको छ ।


Top