बेसी झरे भल्कोटी

डम्मर बुढा मगर   POSTED ON : आश्विन ७, २०७८ (१२:५२ PM)

बेसी झरे भल्कोटी

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ भर्कोबाङमा यतिबेला मानिस र बस्तुभाउको चहल पहल छ । सानो पहाडको टुप्पोमा रहेको भर्कोबाङ समथर छ । यही समथर क्षेत्रमा भल्कोटीहरुले लेकबाट आफ्ना पशुचौपाया झारेका छन् । भर्कोबाङको पाटाहरुमा (मकै, गहुँ, जौँ रोप्ने जमिन) केही बाँझो जमिन छन् त के केही भर्खरै मकै भित्राएर बाँकी रहेका डाठ मात्रै देखिन्छन् । ती पाटाहरुमा सयौँको संख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरुले भरिएका छन् ।

त्यही क्षेत्रको बिच भाग, छेउछाउ र कुना तिर राता, पहेँला त्रिपाल र बलाङ (चोयाबाट बुनेको सामग्री)ले छाएका गोठहरु छन् । गोठालाहरु त्यहाँ बस्न सम्म त्यही गोठमा दिन रात बिताउने गर्छन् । चारै तिर काला, खैरा गाई गोरु, भेँडाबाख्राले भरिएको मर्काबाङ अब १५ दिन यस्तै पशुचौपायाले भरिभराउ हुन्छ । असोज ५ गते भल्कोटवासीको विशेष दिनका रुपमा पनि लिइन्छ । उनीहरुले बैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्छन् र असार १५ सम्म सबै लेक–लेकमा पुग्छन् । दजनौँ पशुचौपाय पाल्ने स्थानीयहरुले गाउँमा घाँस पु¥याउन नसके पछि लेकमा लैजाने गर्छन् ।

४÷५ महिना लेकमा बसेर पशुचौपाया चराउने उनीहरुले त्यसको अलावा चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने काम समेत गर्नेछन् । लेक जाने समय वैशाखदेखि सुरु भएर असार सम्म भए पनि गोठ झार्ने समय भने असोज ५ नै हो । यदि असोज ५ भन्दा पहिलेनै बेसीमा गोठ सारेमा जरिवाना हुने गर्छ । त्यसले गर्दा पनि सबैले परम्परादेखि कार्यान्वयन हुँदै आएको नियम पालना गर्दै आएका छन् ।

असोज ५ भन्दा पछाडि आउँदा जरिवाना भने नलाग्ने स्थानीय बताउँछन् । तर, धेरैजसो गोठालेहरु असोज ५ मै बेसी झर्छन् । भेडी गोठालेहरु भने अल्ली पछि मात्रै बेसी भर्ने गर्छन् ।  खर्चपर्च बोकेर लेक जाने उनीहरु समय–समयमा गाउँ झर्ने र आवश्यक सामानहरु लिएर फर्किन्छन् । केहीले घरबाटै खर्च पु¥याइ दिने गर्छन् । उनीहरु विशेष गरि गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन लगायतका ठाउँमा हुन्छन् । 

असोज ५ गते मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्थे । त्यसको पछि–पछि किशोरदेखि वृद्धावस्थाका गोठालाहरु ठूलो भारीसहित हिँडिरहेका थिए । उनीहरुले गाइबस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपाडा, ठेकी लगायतका सामानहरु बोकेका थिए । महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुसारमा निकै खुसी छाएको थियो । केही गन्तव्य सम्म आइपुगेका थिए भने केही नजिक आइपुगेका थिए ।

महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । ५ गते भन्दा अगाडि पछाडि बेसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै बेसी झर्ने गरेको उनीहरु बताउँछन् । 

असोज ५ गते गोठालाहरुको विशेष दिन हुने स्थानीय प्रकाश बुढा मगरले बताउनु हुन्छ । ‘५÷६ महिना पछि घर आयो, घर परिवारलाई नदेखेको धेरै भयो, आज त सबैसँग भेट हुन्छ, सबैलाई भेट्दा रमाइलो हुन्छ,’ बुढा मगरले भन्नुभयो ‘गोठमा कति धेरै दुःख भयो, परिवारका सबैलाई भेट्न पाउँदा निकै खुसी लाग्छ, त्यो दुःख सबै भुलिन्छ ।’

परम्परादेखि नै जेठ÷असार महिनामा लेक जाने र असोज ५ मा बेसी झर्ने प्रचलन चल्दै आएकाले पशुचौपाया चरनका लागि सही व्यवस्थापन हुने बताउनुहुन्छ । बुढा मगरले पशु चौपायालाई भर्कोबाङमा १५ दिन राखेर घर नजिकको बारीमा लैजाने बताउनुहुन्छ ।

‘अहिले यहाँ ल्याएर राख्यौँ, अब १५ दिन जति यही चराउने हो, हामी पनि यही बसेर यिनीहरुको रेखदेख गछौँ, अब केही दिन पछि तर घर छेउका बारीमा लगेर चराउछौँ,’ उहाँले भन्नुभयो ‘बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, दुःख हुन्छ गोठाले जीवन यस्तै छ ।’

हिउँदको समयमा लेकमा हिउँ पर्ने हुँदा बेसीमै पशुचौपायाललाई घाँस काटेर खुवाउनु पर्ने भन्दै बेसीमा उनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने बुढाको भनाई छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँको भनाई छ ।

अर्का स्थानीय मनबहादुर घर्ती मगरले बर्खाको समयमा बेसीमा चौपायाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको बताउनुहुन्छ । स्थानीयको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था हँदैन । ‘बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, बनमा चरण प्रयाप्त हुन्छ, यहाँ त हजारौँ गाईभैसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ,’ घर्ती मगरले भन्नुभयो ‘एक घरको कम्तीमा पनि २५÷३० वटा गाई भैँसी र १÷२ सय वटा भेडाबाख्रा हुन्छन्, यति धेरैलाई गाउँमा राख्ने अवस्थामै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखिनै लेकबेसी गर्ने परम्परा बसाल्नु भएछ ।’

उहाँले असोज ५ गतेभन्दा पहिला बेसीमा वस्तुभाउलाई झारेमा उसलाई जरिवाना गरिने बताउनुभयो । पहिला बेसी झर्ने गोठालाले आफ्नो वस्तुभाउलाई बढी घाँस खुवाउने भन्दै कसैलाई पनि बढी घटि नहोस् भन्ने उद्देश्यले एकै पटक बेसी झर्ने नियम बनाएको बताउनुहुन्छ । 

‘असोज ५ गते भन्दा पछि बेसी झर्दा केही हुँदैन तर ४ गतेनै कसैले पशुचौपायालाई बेसी झा¥यो भने त्यसलाई जरिवाना हुन्छ, किन कि उसले अरुले भन्दा बढी हरियो चान (घाँस) आफ्नो वस्तुभाउलाई खुवाउँछ,’ घर्ती मगरले भन्नुभयो ‘यस्तो काम कसैले पनि नगरोस् भनेर पुर्खाहरुले नै यस्तो नियम बनाउनु भएको रैछ, हामीले यसलाई पालना गर्दै आएका छौँ ।’

उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो । घर्ती मगरले पशुचौपायालाई लेकबाट बेसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रसस्त घाँस पाइने बताउनुहुन्छ । अब भल्कोटीहरु बैशाख सम्म बेसीमै बस्छन् । बैशाखसम्म गाउँकै बारीहरुमा पुशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् । धेरै पशुचौपाया पाल्ने हुँदा उनीहरु वर्षेनी लेक बेसी गर्नु परेको हो ।



Top