नेपालगन्ज देखि न्याय माग्दै सिहदरवार पैदल हिँडेको टोलि नवलपरासीमा

प्रकाश न्यौपाने   POSTED ON : आश्विन १३, २०७८ (११:३३ AM)

नेपालगन्ज देखि न्याय माग्दै सिहदरवार पैदल हिँडेको टोलि नवलपरासीमा

नवलपरासी । नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्यायको माग गर्दै  नेपालगन्ज देखी सिहदरवारसम्म पैदल यात्रा तय गरेको टोलि बुधबार  नवलपरासी आइपुगे छ । दुई महिलाको शङ्कास्पद मृत्युबारे बाँके प्रहरीले अनुसन्धान नगरेको भन्दै नेपालगञ्जबाट सिंहदरबार घेराउ गर्न पैदलयात्रामा निस्किएको टोली मङ्गलबार  लुम्बिनी प्रदेशको पुर्बीद्वार बर्दघाट आइपुगेका थियो ।

हत्याका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न तथा बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाहीको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको टोली पीडित परिवारसहित असोज १ गतेदेखि न्याय माग्दै काठमाडौँका लागि पैदलयात्रामा निस्केको हो। 

पैदल मार्चको क्रममा नवौँ दिन लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पुगेको टोलीले शनिबार अपरान्ह  ४ बजेदेखि मुख्यमन्त्री कार्यालयअगाडि लगातार तीन दिन धर्ना दिएको थियो । न्याय पाउने आश्वासन मात्र पाएको टोलीले ११ गतेदेखि पैदल मार्चलाई पुनः निरन्तरता दिएको अधिकारकर्मी रूबी खानले बताउनु भयो । बाकेमा नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिएकी थिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटिएको थियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको भन्दै प्रहरीलाई गुहारे पनि प्रहरीले अनुसन्धान नै नगरेर आत्महत्या भनिदिएको पीडित परिवारको आरोप छ । 

त्यस्तै, एकल महिला निर्मला कुर्मी गतवर्ष मङ्सिरमा बेपत्ता भइन् । १६ मङ्सिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भइसकेको बताइएपछि यी दुई शङ्कास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् । ‘एकल महिला एकाएक बेपत्ता भइन् । खोजी गरिदिनुपर्‍यो भनेर अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिँदासमेत प्रहरीले चासो देखाएन । दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आत्महत्या भन्छ,’ अधिकारकर्मी खानले भन्नु भयो, ‘यो देशमा सरकार छ कि छैन भनेर खोज्नका लागि हामी पैदल मार्चमा छौँ ।’ पैदल यात्रामा पीडित परिवारका सदस्यसहित १४ महिला छन् । मृतक नन्कुन्नीकी दिदी बिष्टा धोबी, बहिनी शिला र भाइ माताप्रसाद धोबी पनि मार्चमा छन् । 

मुख्यमन्त्री कार्यालयमा धर्ना दिँदा पनि माग पूरा नभएको बताउँदै अब सिंहदरबारमा धर्ना दिने आफूहरूको योजना रहेको नन्कुन्नीका भाइ माताप्रसाद धोबीले बताउनु भयो  । ‘मान्छेको ज्यान जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुनेन । त्यसैले हामी प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन राजधानी हिँडेका छौँ,’ उहाले भने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने आन्दोलनकारीका माग सम्बोधन भइसकेको बताउँनु भयो  । निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको र सरकारी वकिलले नै मुल्तबीमा राखेको उहाले बताउनु भयो ।

Top