स्याङ्जाका नेता सुजन गहतराजको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

युवराज पौडेल   POSTED ON : आश्विन १६, २०७८ (११:२७ AM)

स्याङ्जाका नेता सुजन गहतराजको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

स्याङ्जा । स्याङ्जाका नेता सुजन गहतराजले नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका साथ पुस्ता हस्तान्तरण र रूपान्तरणसहितको काङ्ग्रेस निर्माण गर्ने अभियानका लागि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभएको छ । उहाँले समावेशीतर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । 

उहाँले उत्पीडित दलित समुदायका लागि धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि विगतदेखि नै आफू काङ्ग्रेसको राजनीतिमा जोडिएको बताउनभुयो । उहाँले भन्नुभयो, ‘पार्टीमा जति दलितको उपस्थिति हुनुपर्ने हो त्यो हुन सकेको छैन । दलित मुक्ति नेपालको मुख्य सामाजिक आन्दोलन हो । लोकतान्त्रिक पार्टी काङ्ग्रेसलाई बलियो बनाउन दलितलाई नेतृत्वमा स्थापित गर्दै जानुपर्छ ।’ आफू गुट उपगुटको राजनीतिमा नभई काङ्ग्रेसको राजनीतिमा विश्वास गर्ने र वीपीको सिद्धान्तलाई मार्गदर्शन मानेर अगाडि बढिरहेको बताउनुभयो । 

गहतराज नेपाल प्रजातान्त्रिक महासंघको गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । उहाँ दलित संघ स्याङ्जाको पहिलो सचिव हुनुहुन्छ । उहाँले दलित समुदायका हकहितमा बोल्दै आउनुभएको छ । 


Top