पर्यटकीय गाउँ सिरुबारीमा बृहत् बौद्ध पूजा हुने

युवराज पौडेल   POSTED ON : आश्विन १८, २०७८ (६:४० PM)

पर्यटकीय गाउँ सिरुबारीमा बृहत् बौद्ध पूजा हुने

स्याङ्जा । दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे तथा नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जा जिल्लाको सिरुबारीमा कार्तिक ३ देखि ७ गतेसम्म ५ दिन लामो बौद्ध त्रिपिटक कांग्युर पाठ पूजा कार्यक्रम हुने भएको छ । 

कोभिड सङ्क्रमणको दोस्रो लहरका कारण बन्द गरिएको होमस्टे अहिले पनि खुलिसकेको छैन । बौद्ध परम्परामा आधारित कांग्युर पाठपूजा सम्पन्न भएपछि कार्तिक १२ बाट होमस्टे सञ्चालनमा ल्याइने नवयुवा क्लब सिरुबारीकी सचिव तथा सामाजिक अभियन्ता उर्मिला गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले सम्पूर्ण ध्यान कार्तिक ३ बाट हुने पूजाका लागि लगाइरहेका छौं । पूजा समापनपछि होमस्टे पनि सञ्चालन गर्छौं ।’ उहाँले भन्नुभयो, ‘बौद्ध परम्परामा त्रिपिटक कांग्युर  पाठको आफ्नै महत्व छ । विश्व शान्ति, मानवता र आरोग्यताको कामनासहित आत्माशान्तिको प्रार्थना गर्दै गुम्बामा पूजापाठ गरिनेछ ।

कांग्युर पाठ गर्ने गुम्बा सिरुबारी मुला निबासी स्वर्गीय रामप्रसाद गुरुङले निर्माण गरी पुनर्निर्माण हुँदै अहिलेको अवस्थामा आएको हो । सिरुबारीको यो गुम्बा स्याङजा जिल्लाकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ । तत्कालीन समयमा गुरुङले गुम्बा निर्माणसँगै गुम्बामा पूजापाठका लागि गुठीसहितको व्यवस्था गर्नुभएको उर्मिला गुरुङले बताउनुभयो ।

पूजाका लागि प्रसिद्ध बौद्ध भिक्षुणी तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मा कार्तिक २ गते नै सिरुबारी आउने कार्यक्रम रहेको छ ।’ पूजामा देश विदेशबाट थुप्रै बौद्ध लामा गुरु रिम्पोछे÷खेम्पोहरु तथा पाहुनाहरुको उपस्थिति रहने पर्यटन समितका उपाध्यक्ष रत्नबहादुर गुरुङले बताउनुभयो ।   

धर्मोदय सभा पञ्चमूल शाखा, बुद्ध आमा समूह, नवयुवा क्लब र सिरुबारी सामुदायिक होमस्टेको संयुक्त आयोजनामा उक्त पूजा कार्यक्रम सञ्चालन हुने भएको हो ।


Top