बेनी-जोमसोम सडकका लागि अभिशाप बन्यो काभ्रेभिर, सडकको तलमाथि दुवैतिर पहिरो

ध्रुवसागर शर्मा   POSTED ON : आश्विन २२, २०७८ (४:५३ AM)

बेनी-जोमसोम सडकका लागि अभिशाप बन्यो काभ्रेभिर, सडकको तलमाथि दुवैतिर पहिरो

म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभिर यस क्षेत्रका लागि अभिशाप बनेको छ । साँघुरो सडकको तल र माथि दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

गत आइतबार रातिको सामान्य वर्षाले उक्त सडकखण्डको काभ्रेभिरमा सडकको दायाँतर्फ (तल्लोपट्टि) पहिरो गएपछि अवरुद्ध बनेको सो सडक चार दिनपछि एकतर्फिरूपमा सञ्चालनमा आएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको काभ्रेमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँबाट फर्कने यात्रुहरू अलपत्र परेका थिए ।

वर्षेनी पहिरो र नदी कटानका कारण निर्माणाधीन बेनी-जोमसोम सडक निकै सास्तीमय हुनेगरेको सो सडकखण्ड भएर नियमितरूपमा जोमसोम-बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताउनुभयो । हिउँदयाममा स्तरोन्नति गरिएको सडक बर्खायाममा ध्वस्त हुने गर्दा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ । उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बसेरी, तातोपानी, दाना, रुप्से र काभ्रेभिरलगायत सडकमा वर्षाले दुःख दिने गरेको छ । 

बर्खायामको लगातारको वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ । यहाँ सामान्य वर्षा हुनासाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीय श्याम खत्रीले बताउनुभयो । 

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुंगे भिरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका-६ का कृष्ण बरुवालले बताउनुभयो । वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जानेक्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले हिमालय टाइम्सलाई बताउनुभयो । 

बेनी-जोमसोम-कोरला सडकखण्डकोे विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको भए तापनि काभ्रेभिर भौगोलिक रूपमै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताउनुभयो । पहिरोले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेको उहाँको भनाइ छ । 

बेनी–जोमसोम खण्डका चार÷पाँच ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी-जोमसोम-कोरला आयोजनाले बेनी–जोमसोम (७६ किमी) र जोमसोम–कोरला (११० किमी) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ । त्यस अनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्रे हुनेछ भने जोमसोम-कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटकहरू अप्ठ्यारोमा परेका छन् । सडकखण्डअन्तर्गत तातोपानीको पोखरी, नागढुंगा, दानाको गुइँठे, काभ्रेभिर, मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् । 

उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिरोले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुनसकेको छैन । भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ । बेनी-जोमसोम-कोरला सडकखण्डमा करिब पाँच अर्बको लगानीमा सडक स्तरोन्नतिको काम भइरहेको छ । दुई अर्ब ४० करोड रुपैयाँ लागतको तल्लो खण्डमा विस्तार र कालोपत्रे गर्ने र दुई अर्ब ६० करोड रुपैयाँको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।


Top