दुई वर्षपछि बागलुङ कालिकामा भक्तजनको घुइँचो

डम्मर बुढा मगर   POSTED ON : आश्विन २२, २०७८ (४:४७ PM)

दुई वर्षपछि बागलुङ कालिकामा भक्तजनको घुइँचो

बागलुङ  । नेपालका धेरै शक्तिपिठहरु मध्ये बागलुङ कालिका गण्डकी प्रदेशकै प्रमुख गन्तव्यका रुपमा चिनिन्छ । दशैँको पहिलो दिन घटस्थापनादेखिनै बागलुङ कालिका भगवती मन्दिरमा दैनिक हजारौं भक्तजनको भीड लाग्न थालेको छ । चर्चित र धार्मिक महत्व बोकेको यस मन्दिरमा वर्षेनी हजारौँ भक्तजनहरुले पूजाआजा गर्ने गर्छन् ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको प्रसिद्ध शक्तिपिठ भएकोले बडा दशै र चैतेदशैमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । तर कोरोना संक्रमणको कारण गत वर्ष भने धार्मिक पर्यटकको आगमन हुन सकेन । घटस्थापनाको दिनदेखि कालिका मन्दिरमा दैनिक हजारौं भक्तजन आउने भएकोले बागलुङ भगवती गुठी व्यवस्थापन समितिले विशेष तयारी समेत गरेको छ । आएका भक्तजनको लागि पूजामा सहजीकरण, बली व्यवस्थापन, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो 

‘गत वर्ष कोरोना संक्रमणको कारण तिर्थ यात्रुहरु आउु भएन, यस वर्ष संक्रमण केही कम भएको हुँदा घटस्थापनाको दिनदेखिनै बाक्लो उपस्थित भएको पाएका छौँ,’ अध्यक्ष खड्काले भन्नुभयो ‘उहाँहरुलाई लक्षित गरि सुरक्षा व्यवस्था, पूजामा सहजीकरण, बली व्यवस्थापन, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउने कोसिस गरेका छौँ ।’

विगतका वर्ष बडा दशैंमा ६ लाख बढी भक्तजन आउने गरेको समितिको तथ्यांक छ । यस वर्ष कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएको हुँदा केही कम आउने अनुमान मन्दिर व्यवस्थापन समितिको छ । ‘विगतका वर्ष ६ लाख बढी नरिवल विक्री भएकोले त्यतिनै भक्तजन आएको अनुमान गरेका थियौँ, उपस्थिती पनि निकै उत्साहजनक थियो’ खड्काले भन्नुभयो, ‘घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कतिपय दुई तीन पटक पनि दोहोरिएका होलान्, यस वर्ष कोरोनाका कारण बन्द भएको मन्दिर खुलेको धेरै भएको छैन, र पनि उल्लेख्य झक्तजनहरु आएको पाएका छौँ ।’

धार्मिक विश्वासको कारण आउनेलाई पटक पटक आउने वातावरण बनाउन व्यवस्थापकीय सहजीकरण गरेको उहाँले बताउनुभयो । यो पटक झक्तजनहरुलाई थप सहज बनाउनका लागि पूर्जा गर्न व्यवस्थित लाइन र कोरोना संक्रमणबाट जोखिन माक्स लगायतका सामग्रीहरुको प्रबन्ध गर्ने गरिएको खड्काको भनाई छ ।  त्यस्तै फ्रि वाईफाई, सूचना केन्द्र स्थापना लगायत गरिएको उहाँको भनाई छ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भैरहेको किम्बदन्ती समेत छ ।

कालीका मन्दिरमा दर्शन गर्न आउनाले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पुरा हुने लगायतका जनविश्वास छ । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, बुटवल, पोखरा, काठमाडौँ, पाल्पा, स्याङ्जा लगायत देशभरका विभिन्न स्थानबाट कालिका प्रति धेरै विश्वास मान्नेहरु दर्शन गर्न आउने गर्छन् । त्यस्तै भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

वडादशैं र चैतेदशैमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । त्यतिबेला हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको स्थानीय बुढापाकाको भनाई छ ।

कालिका गुठीमा खड्काहरुको प्रमुख जिम्मेवारी छ । मन्दिर स्थापनादेखि अहिलेसम्म खड्काहरुले नै मुख्य कर्ताको रुपमा काम गर्दै आएको पाइन्छ । मन्दिरमा भेटिएका तीन वटा लिखित दस्तावेजले पनि खड्क समाएर आएका चक्र पुवारका खलकलाइनै पूजारी भएर काम गर्ने अधिकार दिइएको छ ।

अहिले पनि मन्दिरको विशेष संरक्षण, रेखदेख स्थानीय खड्का परिवारबाटै भइरहेको छ । पर्वत राज्य विसं १८४३ मा नेपालमा गाभिएपछि १८४५ मा तत्कालीन राजाले लालमोहर लगाएर स्थानीय रामचन्द्र खड्काहरुलाइ पूजारी बनाएर खड्काहरुनै गुठीयार बस्ने अधिकार दिएको भन्ने दस्तावेजमा उल्लेख गरिएको छ ।

मन्दिरमा भक्तजनले चढाएको भेटीबाट वार्षिक डेड करोड आम्दानी हुने गरेको थियो तर यस वर्ष कम हुने अनुमान छ । भेटिबाट संकलन भएको उक्त रकम मन्दिरको भौतिक पूर्वाधार निर्माण, कर्मचारीको तलब भक्ता लगायतको व्यवस्थापनमा खर्चिने गरिएको पनि खड्काले बताउनुभयो । यस मन्दिरमा दर्शनका लागि वार्षिक ५० लाख भक्तजन आउने गरेको समितिले जनाएको छ । 

पछिल्लो समय सडकको सहज पहुँच पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको चाँप बढेको पाइन्छ । कोरोनाको समयमा मन्दिर बन्द भए पनि लकडाउन खुल्ना साथ दैनिक सयौँ  आन्तरिक पर्यटकहरु बागलुङ कालिकामा आउने गर्थे । कालिका मन्दिर नजिकै विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल हेर्न आउने पर्यटक पनि मन्दिरमा पुग्ने गरेका छन् ।

बागलुङ कालिका मन्दिरमा दर्शानार्थीको भिड । तस्बिर ः डम्मर बुढा मगर÷हिमालय टाइम्स


Top