पुतलीबजार ढाँडेको मगर समुदायमा नयाँ होमस्टे सञ्चालन हुँदै

युवराज पौडेल   POSTED ON : आश्विन २२, २०७८ (६:२५ PM)

पुतलीबजार ढाँडेको मगर समुदायमा नयाँ होमस्टे सञ्चालन हुँदै

स्याङ्जा । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–५ ढाँडेमा नयाँ सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । बिम्दी ढाँडे हुलाक होमस्टे विसं २०७७ सालमा दर्ता भएको थियो । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेशको सहयोगमा स्थापना भएको उक्त सामुदायिक होमस्टे मगर समुदायद्वारा सञ्चालन गर्न लागिएको होमस्टे हो । 

मगर भाषामा ‘बिमडी’ बाट अपभ्रंश हुँदै ‘बिम्दी’ भएको मानिन्छ । मगर भाषामा ‘बिमडी’ को अर्थ ‘मुसाको प्वालबाट निस्किएको स्वच्छ पानी’ भन्ने हुन्छ । 

पहिले यो ठाउँ हुलाकी राजमार्गका रूपमा परिचित थियो । यो रेग्मी कुलमन्दिर र मगर कुलपूजास्थल नजिकै रहेको छ । यो होमस्टे क्रिस्ती हुँदै पोखरा निस्कने मार्गमा रहेको छ । यो गाउँ ऐतिहासिक नुवाकोटको दक्षिणमा पर्दछ । नुवाकोट स्याङ्जाको पुरानो सदरमुकामसमेत हो । ४० भन्दा बढी घरहरू रहेको ढाँडे गाउँमा होमस्टे सञ्चालन हुने भएपछि स्थानीयहरू उत्साहित भएका छन् । गाउँको उत्पादन होमस्टेमा बिक्री गरेर आयआर्जन गर्न सहज हुने स्थानीयहरूको भनाइ छ ।

यो होमस्टे दर्ता भएर तयारी पूरा भएको र दशैंतिहारको बीचमा औपचारिक उद्घाटन हुने होमस्टेका अध्यक्ष मेखबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टेका लागि पाहुना राख्ने घरहरू तयार भएका छन् । आधारभूत सबै संरचनाहरू बनाइएको छ । विस्तारै आवश्यकतानुसार थपिँदै जानेछ ।’ आगामी दिनमा मगर सांस्कृतिक संग्रहालयको स्थापना र भ्युटावर निर्माण गर्ने योजना रहेको अध्यक्ष आलेले बताउनुभयो । 

यो होमस्टे सिद्धार्थ राजमार्गको बाडखोलाबाट पाँच किलोमिटर पूर्वदक्षिणमा पर्दछ । काठमाडौं, पोखरा र बुटवलबाट सोझै सडक मार्गबाट यस ठाउँमा पुग्न सकिन्छ । यहाँ होमस्टेसँगै सामुदायिक वनको मनमोहक प्राकृतिक दृश्यसमेत हेर्न पाइन्छ । यसका साथै यहाँ सामुदायिक भवनसमेत रहेको छ । 

स्याङ्जा जिल्लामा अधिकांश होमस्टे गुरुङ संस्कृति र मौलिकतामा आधारित रहेको अवस्थामा बिम्दी ढाँडे हुलाक होमस्टे मगर समुदायको मौलिकता र संस्कृतिमा आधारित रहेर सञ्चालन गर्न लागिएकाले यसको छुट्टै महत्व र स्थान रहेको स्थानीय बुद्धिजीवी मुक्तिराम रेग्मीले बताउनुभयो । 


Top