बाढी पीडितलाई न दशैँ न तिहार

डम्मर बुढा मगर   POSTED ON : आश्विन २६, २०७८ (५:२९ AM)

बाढी पीडितलाई न दशैँ न तिहार

बागलुङ । दशैँ आएपछि धेरैको मनमा हर्ष र उमङ्ग छाएको छ । दशैँ तिहार मिठो मसिनो खानपान र नयाँ पहिरनसँग जोडिएको पर्व हो । यसले गर्दा धेरैमा खुसी छाउनु स्वाभाविक हो । हुने खानेले तामझामका साथ दशैँ तिहार मनाउने गर्छन् भने हुँदा खानेले पनि ऋण धन गरे, मजदुरी गरेरै भए पनि दशैँका लागि मिठो मसिनो खाना र नयाँ कपडाको जोहो गरेकै हुन्छन् ।

तर ढोरपाटनका बाढी पीडित भने अहिले ऋण धन गरेरै भए पनि चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । गत वर्ष भदौ १७ गते भूजीखोलामा आएको बाढीले सयौँलाई घरबारविहीन बनायो । कैयनले परिवारका सदस्य र आफन्त गुमाए । तीन दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटनाका कारण अझै पनि भूजीखोलावासीको आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि अहिले यहाँका सयौँ नागरिक घर टहरोकै व्यवस्थापन र विहान बेलुकीको छाक टार्नका लागि संघर्ष गरिरहेका छन् । उनीहरूको वर्ष दिन पुगेपछि अहिले बल्ल घर ठडिएको छ । घर त ठडियो तर ऋणले उनीहरूलाई ठडिएको घरमा निन्द्रा भने लागेको छैन ।

बाढीका कारण आफन्त र श्रीसम्पत्ति गुमाउनेमध्येका एक हुनुहुन्छ कुलबहादुर विक । बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी गरी चार जना सदस्य बगाएको थियो । आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा अझै पनि ओभाएका छैनन् । त्यसमाथि घर आँगनमा आएको चाडपर्वले उहाँलाई झनै खपि नसक्ने पीडा दिएको छ ।

‘चाडपर्व आयो, मर्ने मरेर गैसके, बाँचेकाले खान लाउन खोज्दा रहेछन्, उनीहरूलाई मिठो खान राम्रो लाउन दिने अवस्था पनि छैन,’ विकले भक्कानिँदै भन्नुभयो ‘भए भरको सम्पत्ति सबै बगर बनेको छ, काम गरेर ल्याएको केही पैसाले घर बनाएको ऋण तिर्नुपर्‍यो, बिहान बेलुकीको छाक टार्नुपर्‍यो, मिठो मसिनोको कुरा त टाढैको हो, यहाँ दैनिक छाक टार्न गाह्रो छ ।’

विकले घर बनाउँदा लागेको ऋण तिर्न हम्मेहम्मे भएको भन्दै सरकारले चाडबाडको समयमा थोरै भए पनि राहतको व्यवस्था गरिदिएको भए बालबच्चासँग चाडबाड मनाउन सकिने बताउनुभयो । उहाँले नगरपालिकाबाट घर बनाउन दुई लाख रुपैयाँ सहयोग मिलेको सुनाउँदै आफूले थप चार लाख खर्च गरेर ६ लाखमा घर निर्माण सम्पन्न गरेको बताउनुभयो ।

बाढीमा जीवन संगीनीसहित सबै सन्तान गुमाएका ढोरपाटन नगरपालिका-९ का निमप्रकाश विकले पनि कुलबहादुरको जस्तै पीडा सुनाउनुभयो । दिनमा ज्याला मजदुरी गरे विहान बेलुकीको छाक टार्ने गरेको उहाँले बताउनुभयो । 

बाढीले २५ वर्षीया श्रीमति चनी विक, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरासहित भएभरको जायजेथा सबै बगाएको थियो । ‘केही छैन, घर, सम्पत्ति भएको ठाउँ अहिले बगर बनेको छ, के मा गरिखाने, मागेर खाउँ भने पनि सबै आफैँजस्तै पीडामा छन्’ निमप्रकाशले भन्नुभयो, ‘पहिला चार÷पाँच जनाको परिवार पाल्न सजिलै सकेको थिएँ, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ, चाडबाड आएको हो कि नआएको मलाई त केही पत्तो छैन, मन पिरैपिरले भरिएको छ, के को दशैँ के को तिहार ?’

ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ मा आएको बाढीले १३१ घरमा क्षति पुर्‍याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ढलान पुल पाँच वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो । क्षति पुगेका अधिकांश भौतिक संरचना भने मर्मत भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाले चाडबाड लक्षित गरी बाढी पीडितलाई कुनै पनि सहयोग नगरेको नगर उपप्रमुख करमति पुनले जानकारी दिनुभयो । उहाँले उनीहरूको लागि घर बनाउन नगरपालिकाबाट सहयोग गरेको स्मरण गर्दै क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न आफूहरूले जोड दिएको बताउनुभयो । 


Top