अविरल वर्षाका कारण पाकेको धान खेतमै : किसान चिन्तित

युवराज पौडेल   POSTED ON : कार्तिक १, २०७८ (११:४९ AM)

अविरल वर्षाका कारण पाकेको धान खेतमै : किसान चिन्तित

स्याङ्जा । कृषिप्रधान देश नेपालमा धान प्रमुख बाली मानिन्छ । नेपालमा खासगरी असारमा धान रोपेर कार्तिक मंसिरमा भित्राउने गरिन्छ । लहलहाउँदा सुनका बाला जस्ता पहेंलपुर झुलेका धानका बाला काटेर भकारीमा भित्राउने बेलामा अविरल वर्षा भएपछि स्याङ्जाका कृषकहरु अत्यन्तै चिन्तित भएका छन् । 

शनिबार बेलुकाबाट मुसलधारे पानी परेपछि अधिकांश ठाउँमा काटेर खेतमा पाँजा बनाई राखेको धान पानीले डुबेको छ । पानीले डुबेको धान घाम लागेपछि सुकाएर सुरक्षित बनाउन सकिन्छ कि भन्ने किसानको आशा थियो तर पनि आइतबार बेलुकीबाट पुनः परेको अविरल पानीले त्यो आशा पनि समाप्त भएर कृषकहरु चिन्तामा डुबेका छन् । 

‘खेतमा धान पाकेर झर्न लागेको छ । काटेको धान पराल कुहिएर कामै नलाग्ने अवस्थामा पुगेको छ । अविरल वर्षाले किसानलाई समस्यामा पारेको छ ।’ आँधीखोला ५ एकराहेका किसान नन्दलाल शर्माले भन्नुभयो । 

स्याङ्जाका लामागे फाँट, जोगीफाँट, ठुलीबेंसी फाँट, सतौं फाँट, पकानफाँट, डौंवा फाँट, चापाकोट सुन्तलीटार, ज्याग्दी र आँधीखोलाका अन्य फाँटहरु तथा पहाडी टारी खेतहरुमा पाकेको धानलाई लगातार परेको भीषण वर्षाले अत्यन्तै ठुलो क्षति पु¥याएको छ । वर्षभरि दुःख गरेर मुखमा आउन लागेको बाली भित्राउन नपाउँदा किसानहरु रातभरि नसुतिकन बस्न बाध्य भएका छन् ।


Top