नौमतीबाजा संरक्षणमा गाउँपालिकाको चासो

डम्मर बुढा मगर   POSTED ON : कार्तिक ३, २०७८ (६:२१ AM)

नौमतीबाजा संरक्षणमा गाउँपालिकाको चासो

बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका-४ तंग्रामका सरबहादुर परियार नौमती बाजा बजाएरै जीविकोपार्जन गर्नुहुन्छ । परियारले गाउँ समाजमा हुने बिहे व्रतबन्ध, चाडपर्व तथा मेला, महोत्सवमा बाजा बजाएर जीविका चलाउँदै आउनुभएको छ । 

सरबहादुरमात्रै होइन, उहाँका दर्जन बढी अग्रज र अनुजले यही पेशाबाट परिवारको जीविका चलाइरहेका छन् । तर, पछिल्लो समय नयाँ पुस्तामा नौमती बाजाप्रतिको रुचि कम हुँदा दलित समुदायमा बढी प्रचलित नौमती बाजा बजाउने संख्या घट्दो छ । नौमती बाजाको संरक्षण र यसका बाद्यवादकलाई थप प्रोत्साहित गर्न नौमती बाजा समूहलाई काठेखोला गाउँपालिकाले एक/एक थान (पुरै सेट) नौमती बाजा उपलब्ध गराएको छ । दलित समुदायका नयाँ पुस्ता विदेश पलायन हुँदा बुढापाकालेमात्रै नौमती बाजाको संस्कृति धान्दै आएका छन् । 

तंग्राममा यस समूहलाई होइन, गाउँपालिकाभित्रका अन्य आठवटै वडाका नौमती बाजा समूहलाई एक/एक सेट बाजा खरिद गरेर प्रदान गरिएको छ । नौमती बाजा समूह बिहे, व्रतबन्धका साथै सुखद् कार्यक्रममा शुभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउन नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले नौमती बाजा संरक्षण तथा दलित समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको काठेखोला गाउँपालिकाका कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टीका संगम विकले बताउनुभयो । 

‘खासगरी दलित समुदायको पहिचानको रूपमा रहेको नौमती बाजा संरक्षण हाम्रो पहिलो अभियान हो, दोस्रो आयआर्जनमा सहभागी गराई जीविकोपार्जनमा सहयोग गर्ने हो’, विकले भन्नुभयो, ‘बाजा संरक्षण गर्दै बाजा बजाएर गरिने आम्दानी बढाउनु गाउँपालिकाको दायित्व हो, त्यसैले कतिपयले बाजा अभावमा नौमती बाजा बजाउने कार्य छोडेको पाइएकाले नयाँ खरिद गरेर प्रदान गरेका छौं ।’ आधुनिक समाज, तयारी गीत, प्रविधिको प्रयोग, कोरोनाले जर्बजस्त रोक लगाएको भीडभाडजन्य गतिविधिकारण पुस्ता हस्तान्तरण नहुँदा नौमती बाजा लोप हुनेअवस्थामा पुगेपछि पालिकाले नौमती बाजा संरक्षण अभियान थालेको संयोजक विकको भनाइ छ । 

काठेखोला गाउँपालिकाका-८ वटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख बजेट विनियोजन गरेको थियो । नौमती बाजा संरक्षणका लागि दलित समुदायका बाजा बजाएरै जीविकोपार्जन गर्नेहरूलाई नौमती बाजा प्रदान गरेपछि स्थानीय बाजा समूहमा आबद्ध सबै उत्साहित भएका छन् । 

गाउँपालिकाले गत आर्थिक वर्षमा प्रत्येक वडामा नौमती बाजा खरिद गर्न एक लाख १८ हजार बजेट विनियोजन गरेको थियो । अहिले प्रत्येक वडाका एक÷एक बाजा समूहले नयाँ नौमती खरिद गरेर बजाउन थालेका छन् । गाउँपालिकाले बाजा संरक्षणका लागि नयाँ बाजा खरिद गरिदिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । 

‘गाउँपालिकामा लेखानीको बाजा समूहले बाजा माग गरेका थिए, उनीहरूको मागलाई अध्ययन गर्दा सबै वडामा आवश्यकता महुसुस गरियो’, गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, ‘बाजा संरक्षणका लागि नौमती बाजा खरिद प्रदान गर्न कला संस्कृति तथा खेलकुद समतिलाई दियौ, उक्त समितिले बाजा समूह छनौट गरी कामसमेत गरिसकेको छ ।’ आगामी दिनमा बाजा संरक्षणका लागि तालिमसमेत दिने गाउँपालिकाको योजना छ । 


Top