कोरियाबाट फर्किएर खोरियामा व्यवसाय

डम्मर बुढा मगर   POSTED ON : कार्तिक ५, २०७८ (७:४७ AM)

कोरियाबाट फर्किएर खोरियामा व्यवसाय

बागलुङ । पछिल्लो समय धेरै युवामा विदेशी मोह बढेर गएको छ । त्यसकारण दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन् । खाडी मुलुक होस् या अन्य मुलुक उनीहरू लाखौं खर्च गरेर पलायन हुनेक्रम तीव्र छ । कतिपयले विदेशमा गएर राम्रो कमाइ गरेका छन् त केही विदेश गएको ऋणसमेत तिर्न नमाउँदै स्वदेश फर्किन बाध्य छन् । केही भने विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि स्वदेशमै व्यवसाय गर्ने मनशाय बनाएर फर्किएका छन् ।

विदेशबाट फर्किएर केहीले राम्रो व्यवसायको सुरुवातसमेत गरेको पाइन्छ । बागलुङको काठेखोला गाउँपालिका-१ पाला करिनाका प्रतिमान थापा पनि वैदेशिक रोजगारका लागि केही वर्षअगाडि कोरिया पुग्नुभयो । उहाँले कोरियामा चार वर्ष बिताउनुभयो । चार वर्षपछि उहाँ गाउँ फर्किनुभयो र अहिले व्यावसायिकरूपमा ड्रागन खेतीमा लाग्नुभयो । 

थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा ड्रागनखेती सुरु गर्नुभएको छ । उहाँले २० लाख लगानीमा कोदो र मकै उत्पादन हुने जग्गामा ड्रागनको बिरुवा रोप्नुभएको छ । ड्रागनका बिरुवाहरू हलहली बढ्दै गएपछि थापा उत्साहित हुनुभएको छ । बिरुवाहरू रहरलाग्दो रूपमा हुर्किएपछि उहाँलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

विदेशमा गर्ने दुःख गाउँमै गरे राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापा ड्रागनखेती सुरु गरेको बताउनुहुन्छ । सुरुमा चितवनबाट १५ सय ड्रागनका बिरुवा ल्याएर खेती सुरु गरेको उहाँको भनाइ छ । यहाँ पनि व्यावसायिकरूपमा कृषि गर्न सके विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । ‘सुरुमा लहैलहैमा लगेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ,’ थापाले भन्नुभयो, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।’

थापाले विदेश जानुभन्दा अगाडि तीन वर्ष शिक्षण पेशा गर्नुभएको थियो भने सात वर्ष लघुवित्तमा समेत काम गर्नुभएको थियो । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ तर यही गर्छु भन्ने मनमा थिएन, नेपालमा केही नौलो गर्न मन लाग्यो, युट्युबहरूमा हेरँे अहिलेसम्म नेपालमा सोचेजति ड्रागनको व्यावसायिक खेती भएको छैन र यस फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा ड्रागनखेती गर्न सुरु गरेको हुँ,’ थापा भन्नुहुन्छ । 

थापा कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको बताउनुहुन्छ । थापालाई उहाँकी श्रीमती गोरी थापाको पनि राम्रो साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले पाँच महिनाका भए । अबको १५ महिनापछि यी बिरुवाले फल दिन सुरु गर्ने उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ, ‘बिरुवा लगाउने समयमा माटोको सिएलओमात्र गरी बिरुवा लगाएँ, ड्रागन १५ सय उचाइभन्दा कम उचाइमा फल्ने रहेछ, करिना १२ सय उचाइमा छ, यसले गर्दा यहाँ राम्रो उत्पादन हुने अपेक्षा लिएको छु ।’

थापा यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क हुनुहुन्छ । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० पर्ने थापाको भनाइ छ । ड्रागन नेपालमा धेरै उत्पादन नभएको हुँदा यसको बजार माग अत्यधिक रहेको उहाँको भनाइ छ । 

‘अहिले ड्रागन फ्रुटको बिरुवा राम्रो भएको देख्दा मनमा आनन्द आउँछ, बिरुवा राम्रा भएका छन्, अब फेरि केही बिरुवा थप्ने सोचमा छु, फल पनि राम्रै देला भन्ने लागेको छ, फल दिन सुरु गरेमा यसले बजार नपाउला भन्ने पीर छैन,’ थापाले भन्नुभयो, ‘यसको उत्पादन नेपालमा एकदमै कम छ तर माग भने अत्याधिक छ, त्यसले गर्दा बजार नपाउला भन्ने त कुरै भएन ।’

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने भन्दै यसका लागि थाङ्ग्राहरू (लहरालाई झ्याँगिन दिन आडस्वरूप भुइँमा गाडिने काठ) आवश्यकता नपर्ने थापा बताउनुहुन्छ । थापा आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोचमा हुनुहुन्छ । गाउँमा उत्पादन हुने फलफूललाई प्राथमिकता दिएर आफूले व्यावसायिकरूपमा खेती गर्ने भन्दै ड्रागनलाई बढी जोड दिने थापाको भनाइ छ । 

थापा विदेश पलायन हुनुभन्दा गाउँका बाँझो, पाखो बारीलाई उपयोग गरी व्यावसायिकरूपमा कृषि गर्न अन्य युवाहरूलाई आग्रह गर्नुहुन्छ । ‘एकपटक विदेशमा जाने, धेरै कमाउने रहर सबैलाई हुँदो रैछ तर विदेशमा गर्ने दुःख हामी हाम्रै गाउँमै गर्न सक्यौं भने त्यहाँभन्दा बढी कमाइ यहीँ गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘भरसक गाउँका बारीहरूलाई बाँझो नराखौं, कुनै न कुनै फलफूल तथा बाली लगाऔं, केही मिहिनेत गरौं, एक दिन हामीले सोचेको सफलता प्राप्त गर्ने छौं, त्यसका लागि हामीमा धैर्यता हुनुपर्छ, हतार नगरौं, लगानी गरेको केही समयमै प्रतिफल खोज्न थाल्यौं भने हाम्रो लक्ष्य पूरा हुन सक्दैन, मिहिनेत गरौं र धैर्यतालाई आत्मसाथ गर्न जरुरी हुन्छ ।’ 


Top