गाउँका अवसर छोडेर शहर केन्द्रित हुँदै युवा

ध्रुवसागर शर्मा   POSTED ON : कार्तिक ५, २०७८ (७:४९ AM)

गाउँका अवसर छोडेर शहर केन्द्रित हुँदै युवा

म्याग्दी । ‘घरको संघार नाघेर जान्छौ, गाउँको सह सँगसँगै लैजान्छौ’ यसरी गीत सुरु गरेका गुल्मी रुरुका मानबहादुर गन्धर्वले ‘नजाऊ युवा विदेश र शहर, गर्न सके गाउँमै छ अवसर’ गाउँदै गीत टुंग्याए ।

गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरूमा नेपाली ग्रामीण परिवेशको यथार्थ वयान भेटिन्छ । फाँटैभरि लहलह झुलेका धान । गोठैभरि गाईवस्तु । खोरमा बाख्रा र कुखुरा । करेसाबारीमा तरकारी । बारीमा कोदो । चारैतिर हरियाली । वरिपरि साह्रोगाह्रो पर्दा सघाउने आफन्त र इष्टमित्र । यो शारदीय मौसममा देखिने गाउँको चित्र हो ।

एक/डेढ दशकअघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता व्यापक थियो । तर, अहिले समय फेरियो । देशमा संघीय व्यवस्था लागू भएपछि दुर्गम गाउँको मुहार पनि उजेल्लिएको छ ।

गाउँ-गाउँ, बस्ती-बस्तीमा सिंहदरबार पुगेको अनुभूति गरिएको छ । गाउँका बस्ती–बस्तीमा मोटरबाटो पुगेको छ । बजारको सामान गाडी चढाएर घरको आँगनमै झार्न सकिन्छ । खरबारीको घाँस ट्याक्टर वा मोटरसाइकलमा गोठमै पुग्छ । गाउँमा उत्पादन गरिएको वस्तु मान्छेले नबोकिकनै बजारका पसल–पसलमा पु¥याउन सकिन्छ ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । ‘युवा नहुँदा गाउँ, गाउँघरजस्तो लाग्दैन । गाउँले, गाउँलेजस्ता देखिँदैनन्,’ आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाउनुभएका बगरफाँटका दुर्गाबहादुर थापाले भन्नुभयो, ‘मुलुकमा आएको ठूलो परिवर्तनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि शहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरूप्रति त कसैको आँखै लाग्दैन ।’

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरूको संख्या बढ्दै गए पनि विदेश नै नगई गाउँमा नै अवसरहरूको खोजी गर्ने युवाहरू भने नगण्यमात्रामा रहेका छन् ।

‘स्कुले बालबालिकाहरूदेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राखेको हुन्छ,’ बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भन्नुभयो, ‘कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।’

‘युवाहरू आफ्नो रहरले भन्दा पनि घरका अभिभावकको कहरले गर्दा विदेशिन बाध्य भएका हुन्,’ बेनीका दण्डपाणि शर्मा भन्नुहुन्छ, ‘फलानोको छोरो विदेश गएर यो ग¥यो, त्यो ग¥यो, तँ गाउँमै हल्लिएको छस्, खाएको छस्, बुढा बाबु वल्लो घर छोरालाई गाली गर्दै कराएको पल्लो घर सुनिन्छ, वातावरण नै यस्तो भइदिएपछि एक्लै युवाले मात्रै के–के पो गरोस् ।’

युवाहरूमा सकेसम्म युरोप, अमेरिकामा ‘सेटल’ हुने, नसके खाडी मुलुकमै गएर भए पनि केही कमाएर फर्कने भन्ने मानसिकताले गर्दा गाउँमा रहेका रोजगार र आयआर्जनका अवसर र सम्भावनाहरू ओझेलमा परेका यहाँका जानकारहरूको भनाइ छ ।

रोजगारीका लागि विदेश पसेका युवाहरूबाट म्याग्दीमा वार्षिक तीन अर्ब हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको गरिमा विकास बैंक बेनीका प्रमुख कमल ढुंगाना बताउनुहुन्छ ।

रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै गाउँमा खुशी भने आउन सकेको छैन । छोराछोरीले विदेशमा कमाएको पैसाबाट किनिएका शहरका घर र घडेरीमा गाउँका वृद्धवृद्धाहरू बसाइँ सर्न मानेका छैनन् । गाउँको चिसो पानी, उर्वर माटो र त्यही माटोमा लडीबुडी खेलेर हुर्केको जवानी त्यति सजिलै बिर्सन उनीहरू तयार छैनन् । उनीहरूमा गाउँप्रतिको अगाध प्रेम अझै छ ।

कोरोना महामारीका कारण नेपालको मात्रै होइन, विश्वकै अर्थतन्त्र डामाडोल छ । विदेशमा रोजगार गुमाएका युवाहरू गाउँमा फर्किएका छन् । उनीहरूमा पुनः विदेश फर्केर काम गर्ने रहर छैन । युवाहरू ‘इनफ इज इनफ’ भन्दै सडकमा समेत उत्रिन थालिसकेका छन् ।

वैदेशिक रोजगारीबाट युवाहरू घर फर्केपछि रेमिट्यान्सका भरमा शहरमा बसेका परिवार गाउँ पसेका छन् । गाउँ विस्तारै रमाइलो बन्दै जान थालेको छ  

म्याग्दीमा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढेको छ । विदेशमा काम गरेर फर्केका कामदारमा कुनै न कुनै सीप हुन्छ । सोही सीप प्रयोग गरेर गाउँमै आयआर्जनसँग युवाहरू जोडिन थालेका मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका बताउनुहुन्छ । अहिलेको अवस्थालाई अभाव होइन, अवसरका रूपमा लिई युवाहरूकोे सपनालाई साकार पार्न स्थानीय सरकार लागिपरेको अध्यक्ष रोकाले जानकारी गराउनुभयो ।

गाउँमा पैदलमार्ग, परम्परागत एवं ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सकिने उहाँको भनाइ छ । स्थानीय परिकार र संस्कृतिको स्वादमा होमस्टेहरू सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उहाँ सुनाउनुहुन्छ । 

Top