हराउँदै ऐतिहासिक पाटीपौवा र धर्मशाला

डम्मर बुढा मगर   POSTED ON : कार्तिक ६, २०७८ (६:०० AM)

हराउँदै ऐतिहासिक पाटीपौवा र धर्मशाला

बाग्लुङ । कला, संस्कृति र परम्पराले भरिपूर्ण मानिने बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशालाको अस्तित्व लोप हुँदै गएको छ । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइसराइलगायतका कारण ऐतिहासिक महत्वका पृथक् संरचना भत्किँदै र हराउँदै जान थालेका छन् । 

जिल्लाको पश्चिम क्षेत्रमा सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्रीलगायतका मानिसहरूका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् । अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ । 

एक दशकअघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटीपौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महŒव बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ । 

बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैंटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएकोप्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने निसीखोला गाउँपालिका–५ का हर्कबहादुर घर्ती मगरले बताउनुभयो । बटुवाहरू दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरू नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला वरदान साबित हुन्थ्यो ।

‘पहिले त अहिलेको जस्तो होटलहरू थिएनन्, यस्ता सडक सुविधा थिएनन्, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपथ्र्यो, हिँड्दा–हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,’ घर्तीले भन्नुभयो, ‘रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक÷दुई दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।’

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै बागलुङमा यस्तो मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशालाहरू भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन् । 

यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण कम उपयोग हुँदै आएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का पूर्णबहादुर नेपालीले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौं पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । निसीखोलाको कालापैराको फेदमा रहेको धर्मशालालाई स्थानीयले संरक्षण गर्दै आएका छन् ।

निसीखोला गाउँपालिका-५ का वडाध्यक्ष हर्कमान घर्ती मगरले पुराना ऐतिहासिक सम्पदाको संरक्षणमा आफूहरू निरन्तर लागेको भन्दै पालिकाले पनि त्यस्ता सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । उहाँले आफ्नो वडामा पनि मौलिक सम्पदाहरू लोप हुँदै गएको भन्दै तिनीहरूको संरक्षणमा वडा कार्यालय र युवाहरूलाई जागरुक बनाएको बताउनुभयो ।

दैनिकरूपमा त्यसको लिपपोत नभए पनि दशैँको समयमा सरसफाइ र लिपपोत हुँदै आएको छ । स्थानीयहरूले अहिले त्यहाँ पशुचौपायासमेत बाँध्ने गरेको पाइन्छ । स्थानीय सरकारले उच्चस्थानमा अनावश्यकरूपमा कंक्रिटका भ्यू टावर निर्माण गर्छन् तर यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन् । लाखौं रुपैयाँ खर्च गरेर अग्लो ठाउँमा भ्यू टावर निर्माण गर्नुभन्दा यस्ता पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्नु उचित होला ।

Top