महिलाको सामुहिक बलात्कार, चार दिनपछि उजुरी

धु्रबसागर शर्मा   POSTED ON : कार्तिक ९, २०७८ (१:०८ PM)

महिलाको सामुहिक बलात्कार, चार दिनपछि उजुरी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५, पुलाचौरकी एक  २७ वर्षीया विवाहित महिलालाई तीन जना युवाहरुले सामुहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।  पति विदेश रहेको र छोराछोरीसँग सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राति स्थानीय ३ किशोरले महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्।

मदिरामा लठ्ठ भएका युवाले महिलालाई आर्थिक प्रलोभन र विभिन्न धम्की देखाएर पालैपालो जकरजस्ती करणी गरेको पीडित महिलाको भनाइछ । घरमा सुतिरहेकाबेला घरका अन्य सदस्यले थाहा नपाउने गरी मुखमा कपडा कोचिदिएर सामूहिक रुपमा बलात्कार गरिएको बताइएको छ ।

गाउँमा मदिरा सेवन गरी सधैं होहल्ला गर्ने, धम्की दिने गरेका एक बानियाँ र दुई दलित यूवा घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी श्यामकुमार राईले बताए। ‘घटनामा संलग्नलाई कानुनी कारबाहीको तयारी भइरहेको छ, कुनैपनि हालतमा अपराधीले उन्मुक्ती पाउने छैनन,’ उनले भने ।

डिएसपी राईले घटनामा संलग्नलाई नियन्त्रणमा लिन पुलाचौर आसपासका जंगलसहित छिमेकी गाउँसम्म प्रहरी परिचालन गरिएको जानकारी दिए । घटनामा संलग्नलाई जोगाउने प्रयास समेत गरिएको भन्दै दलित अधिकारकर्मीले चासो देखाएपछि मात्रै घटना बाहिरिएको थियो ।

पीडित महिलाको बेनी अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ । प्रहरीले घटनामा संलग्नलाई जर्बजस्तीकरणी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

कसरी भयो घटना

घटना भएको रातिआरोपित युवाहरु मदिरा सेवन गरी घरभित्र प्रवेश गरेपछि महिलाकी छोराले निगरानी गरेका थिए । महिलालाई जबरजस्ती गरेपछि छोराले प्रहरीलाई खवर गरेपछि घटना सार्वजनिक भएको थियो ।

कात्तिक २ गते घटेको घटनालाई गाउँका महिरा सेवन गरी होहल्ला गरेको भन्दै लुकाउने प्रयास गरिएपनि पीडित महिलाका छोराले आफन्तसँग गुहार मागेका थिए । सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर ३ जनाले डरधम्की देखाएर बलात्कार गरेको पीडितका छोराको भनाइ उदृत गदैंएक स्थानीयले बताए । आरोपीले पटकपटक घरमा आएर सताउने गरेको समेत बताए ।

महिलाका श्रीमान विदेश भएको अवस्थामा गाउँमा अराजक गतिविधिबाट परिवार र आफन्तलाई समेत आजित पार्दै आएका बानियाँ थरका युवाको अगुवाइमा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रभावित हुने भएकाले सामूहिक बलात्कारमा संलग्नको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । पीडित र प्रत्यक्षदर्शीको सुरक्षातर्फ पनि प्रहरी सचेत तथा संवेदनशील रहेको डिएसपी राईले बताए । पीडितलाई दबाब र आर्थिक प्रलोभनमा पारेर कानुनी र अनुसन्धानलाई प्रभावित बनाउन तथा विषयान्तर गराउन खोजिएको भन्दै अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन्। कात्तिक २ गते (मंगलबार) राति भएको घटनाका पीडितले ४ दिनपछि बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी जाहेरी दिएकी थिइन्।

मुद्धा मिलाउन आर्थिक चलखेल

बलात्कार गर्नेमाथि प्रहरीमा जायरी दर्ता भएपछि मुद्दा मिलाउन चलखेल सुरु भएको छ। सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास समेत भएको हो ।

आरोपीका आफन्त, छिमेकी र राजनीतिक दबाबमा मिलापत्र कागजका लागि पटकपटक दबाब दिइएको पीडित पक्षले दाबी गरेकाछन् । बलात्कारको घटना मिलाउन आरोपीका आफन्तले घटना भएकै दिनदेखि लगातार भूमिका खेलेको पाइएको प्रत्यक्षदर्शीको भनाइ छ । बलात्कार घटनाको अनुसन्धान भइरहेकै समयमा आरोपीका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र मुद्दा अदालतसमक्ष पुगेमा बयान समेत फेर्न बारम्बार दबाब दिइरहेका छन् । स्रोतका अनुसार घटनाको पहिलो दिन १० हजार रुपैयाँबाट सुरु भएकोमा अहिले पीडित महिला र उनका आफन्तको हैसियत अनुसार दिन सकिने भन्दै घटनालाई कमजोर बनाउने प्रयास भइरहेको अधिकारकर्मीको भनाइछ ।

यता पीडित पक्षको किटानी जाहेरीका आधारमा संलग्नको खोजीमा जुटेको प्रहरीको अनुसन्धानलाई नै प्रभावित बनाउने प्रयास भइहेको भन्दै अधिकारकर्मीले समेत निस्पक्ष छानविनको माग गरेको छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत घटनामा संलग्न भएका तीन यूवा बिरुद्ध अदालतमा मुद्दा दायरको तयारी गरेको छ ।


Top