सुनसान सिमाना ‘पातीहाल्ने’ मा व्यापार !

डम्मर बुढा मगर   POSTED ON : कार्तिक १४, २०७८ (५:०६ AM)

सुनसान सिमाना ‘पातीहाल्ने’ मा व्यापार !

बागलुङ । उच्च क्षेत्रमा नांगो डाँडा र मध्य भागतिर घना जंगल । त्यही घना जंगलका बीच-बीचमा सयौंको संख्यामा वस्तुभाउ देखिन्थे । गाईभैंसी, भेडाबाख्रा र चराचुरुंगीको मात्रै आवाज सुनिन्थ्यो । जंगल र पहाडका टापुहरूमा गोठालेहरूले बनाएको गोठ । पातीहाल्ने अर्थात् बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना हो । जुन ३२ सय मिटरको उचाइमा छ । 

यो क्षेत्र, बागलुङे, रोल्पाली र रुकुमेली गोठालाहरूको भेटघाट हुने बिन्दु र बासस्थान हो । उनीहरू वर्षको छ/सात महिना यही क्षेत्रमा वस्तुभाउसँग बिताउने गर्छन् । पातीहाल्ने, रिग, तिलाचनलगायत क्षेत्रमा तीन जिल्लाका गोठालेहरू बढी बसोबास गर्ने गर्छन् । पशुचौपायाका लागि पर्याप्त चरन क्षेत्र भएकाले पनि गोठालेहरू यही क्षेत्रमा बस्ने गर्छन् भने अर्कोतर्फ मध्यपहाडी लोकमार्गले जोडिएपछि पातीहाल्नेमा बस्ती विस्तार भएको छ । यसले गर्दा गोठालेहरूलाई धेरै सहजता थपिदिएको छ ।

आधा दशकअगाडिसम्म पशुचौपायाले भरिने पातीहाल्नेमा अहिले गाडी र मानिसहरूको भिडभाड बढेको छ । तीन जिल्लाको सिमाना भएको हुँदा घुमफिर गर्न आउने, यात्रा गर्ने यात्रु र गोठालाको जमघटले पातीहाल्नेमा चहलपहल छ । मध्यपहाडी लोकमार्गले नजोडिँदा बागलुङको निसीखोला, रोल्पा र रुकुमका नागरिकहरूले दिनभर लगाएर ओहोरदोहोर गर्ने बाध्यता पनि अहिले हटेको छ । नियमित यातायातका साधनहरू सञ्चालन हुने हुँदा उनीहरूलाई सहज भएको छ ।

अझ लोकमार्ग कालोपत्रे भएपछि झनै सहजता भएको छ । यस क्षेत्रमा पर्ने अधिकांश लोकमार्ग कालोपत्रे भइसकेको छ । निसीखोला, रुकुम र रोल्पाका स्थानीयको वर्षौंदेखि रोटीबेटीको सम्बन्ध छ । लोकमार्गले यो सम्बन्धलाई थप सुमधुर बनाइदिएको छ । गोठालेको पनि दैनिकी फेरिदिएको छ । जंगलको बीचमा लोकमार्गको छेउछाउतिर स्थानीयले गोठ बनाएर बसोबाससमेत गर्न थालेका छन् । पातीहाल्नेमा होटल रेस्टुरेन्ट तथा अन्य पसलहरू पनि खुलेका छन् । यसले गोठालेलाई ठूलो राहत मिलेको छ । 

बर्खाको समय छ महिना पातीहाल्ने क्षेत्रमा बस्ने गोठालेहरूलाई दैनिक उपभोग्य सामान र अन्य लत्ताकपडासमेत किन्न सहज भएको छ । सिमानामा पसल खोलेपछि राम्रो व्यापार हुने गरेको पुरन पुनले जानकारी दिनुभयो । उहाँले घुमघाम गर्न आउने गोठालाहरूले गर्दा व्यापार राम्रो हुने गरेको बताउनुभयो । हिउँदमा चिसोका कारण व्यापार केही कम हुने तर वर्षात्को समयमा भने राम्रै आम्दानी हुने उहाँले बताउनुभयो ।

पातीहाल्नेमा बस्ती र बजार विस्तार हुनेक्रम बढ्दैछ । अहिले चार/पाँचवटा होटल रेस्टुरेन्ट तथा पसलहरू खुलेको र केही वर्षमा धेरै घर भवन बन्ने र बजारका रूपमा विकास हुने सम्भावना प्रबल देखिएको छ । ‘यहाँ पहिले जंगलमात्रै थियो, लोकमार्गले गर्दा अहिले दुई/चारवटा घरहरू बनेर व्यवसाय सुरु भएको छ, अबको चार÷पाँच वर्षमा हेर्नुपर्छ, यहाँ निकै परिवर्तन आउनेछ,’ पुनले भन्नुभयो, ‘व्यापार पनि राम्रो छ, बर्खामा धेरै राम्रो व्यापार भयो, हिउँदमा हिउँ पर्छ, यात्रा गर्ने मान्छे कम हुन्छन्, गोठालाहरू सबै बेसी झरेका हुन्छन्, त्यसले गर्दा व्यापार त्यति राम्रो हुँदैन तर हिउँ खेल्न आउनेहरू पनि धेरै हुन्छन्, त्यसले गर्दा व्यापार ठप्प हुँदैन ।’

पहिले-पहिले गोठालाहरूले घरबाटै खर्च बोकेर गुजारा चलाउने गरेकोमा अहिले यहीँबाट दैनिक उपभोग्य सामानहरू लैजाने गरेका छन् । पुनले गोठालाहरूलाई पनि सडकले ठूलो राहत दिलाएको बताउनुभयो । ‘सडक नआउँदा, गाडी नचल्दा गोठालाहरूले घरबाट दिनभर लगाएर खर्च बोकेर आउँथे, अहिले यहीँ किन्नेले यही पसलमा किन्छन्, नकिन्नेले घरबाटै गाडीमा हालेर ल्याउने गर्छन्,’ पुनले भन्नुभयो ।

रोल्पाको सुनछहारी गाउँपालिका घर भई तिलाचनमा गोठ लिएर आएका शेरबहादुर बुढा मगरले लोकमार्गले आफूहरूको दैनिकी नै फेरिएको बताउनुभयो । उहाँ पातीहाल्ने लोकमार्गले जोडिएपछि पसलहरू खुलेको र त्यसबाट आफूहरूलाई आवश्यक सामान किन्न निकै सहज भएको बताउनुहुन्छ । ‘मेरो गोठ तिलाचनमा छ, यहाँबाट घर गएर खर्च बोकेर आउँदा एक दिन पूरै लाग्छ तर अहिले यही पातीहाल्नेमा दोकान खुलेको छ, त्यहाँबाट खर्च लिएर आउन एक घण्टा लाग्छ,’ बुढा मगरले भन्नुभयो, ‘सडक नजिकै छ, त्यसले गर्दा भेडाबाख्रा किन्ने, घ्यू किन्ने पनि यहीँ आउँछन्, अहिले त पैसा पनि गोठमै आउँछ, सामान पनि गोठमै, अहिले निकै राम्रो भएको छ ।’

उहाँले सडकले गर्दा गत वर्ष र यस वर्षको दशैँमा भेडाबाख्रा बेच्नका लागि बेसी झर्नुनपरेको बताउनुभयो । बुढा मगरले ४५/५० वटा भेडाबाख्राहरू गोठबाटै बिक्री हुँदा बजारतिर झार्न नपरेको बताउनुभयो । 


Top