क्षतविक्षत लोकमार्ग, जथाभावी निर्माणले विनाश निम्त्याउँदै

डम्मर बुढा मगर   POSTED ON : कार्तिक १६, २०७८ (४:४३ AM)

क्षतविक्षत लोकमार्ग, जथाभावी निर्माणले विनाश निम्त्याउँदै

बागलुङ । मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लावासीका लागि ‘लाइफ लाइन’का रूपमा लिइन्छ । लोकमार्गले बागलुङको पूर्व-मालढुंगादेखि पश्चिम पातीहाल्नेसम्म बीचभागबाटै चिरेर पूर्वी रुकुमसँग जोडिएपछि विकासका सम्भावनाको ढोकाहरू खुलेका छन् । लोकमार्गले जोडिएपछि जिल्लाका विकट गाउँहरू पनि सुमगमा परिणत भएका छन् ।

लोकमार्गले जिल्लाको ६ पालिकालाई जोडेको छ । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई लोकमार्गले जोडेको छ । अन्य चारपालिका जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिका भने लोकमार्गबाट ओझेलिएका छन् । 

जिल्लाका धेरैजसो पालिका राष्ट्रिय गौरवका सडकहरूले जोडिएका छन् । जैमिनी नगरपालिका र बागलुङ नगरपालिका उत्तर–दक्षिण कालीगण्डकी करिडोरले जोडिएका छन् । मध्यपहाडी लोकमार्ग बागलुङमा पर्ने अधिकांंश सडक कालोपत्रे भइसकेको छ भने कालीगण्डकी करिडोर भने हुन सकेको छैन । 

कालोपत्रे भएको मध्यपहाडी लोकमार्गको धेरै ठाउँमा ग्रामीण सडकका कारण क्षतविक्षत भएको छ । स्थानीय पालिकाहरूले विकासको नाममा जथाभावी सडक निर्माण गर्दा पक्की सडक नै जीर्ण बन्दै गएका हुन् । जिल्लाको काठेखोलामा सबैभन्दा कम सडक कालोपत्रे भएको छ भने अन्य पालिकामा पर्ने सडक भने अधिकांश खण्ड कालोपत्रे भइसकेको छ ।

कालोपत्रे भएको सडकमा ग्रामीण सडकबाट आएको भलसहितको बाढीले लोकमार्गको विभिन्न स्थानमा क्षतविक्षत भएको छ । लोकमार्गको गलकोट, बडिगाड र निसीखोलाको धेरैजसो ठाउँमा कालोपत्रे भएको एक वर्ष नबित्दै बाढी–पहिरोका कारण उप्किएर पुरानै अवस्थामा पुगेको छ ।

लोकमार्गको विभिन्न ठाउँमा सडक क्षतविक्षत हुँदा यात्रा गर्न निकै समस्या हुने गरेको गाडीचालक ज्ञानबहादुर बुढाले बताउनुभयो । उहाँले पिच भएको सडकमा माथिदेखि आएको लेदेसहितको बाढीले पुरिँदा समयमै यात्रुलाई गन्तव्यमा पु¥याउन कठिन हुने गरेको दुःखेसो पोख्नुभयो । ‘सडक पिच भएको छ, तर सररर गाडी चलाउन सक्ने अवस्था भने छैन, पिच भएको सडक सबै खाल्डाखुल्डी बनेका छन् भने केही ठाउँमा गाडी निकाल्नै नसकिने गरी भासिएको छ,’ उहाँले भन्नुभयो ‘कहिलेकाहीँ बिरामी पनि बोकिएको हुन्छ, छिटो अस्पताल पुर्‍याउनुपरेको हुन्छ तर सडकको अवस्था खराब हुँदा समयमै गन्तव्य स्थानमा पुर्‍याउन सकिएको छैन ।’

कालोपत्रे भएको सडकका भलले डुंगामाटो ल्याएर थुपार्दा गाडी भासिने, पैदल यात्रासमेत गर्न गाह्रो हुने गरेको बुढा बताउनुहुन्छ । उहाँले स्थानीय तहहरूले जथाभावी रूपमा सडक खन्दा मुख्य सडक जीर्ण बन्दै गएको बताउनुभयो । व्यवस्थित रूपले सडक निर्माण गर्ने भए लोकमार्गमा यस्तो समस्या नआउने उहाँको भनाइ छ ।

अर्का चालक सागर घर्तीमगरले लोकमार्ग कालोपत्रे भएपछि बागलुङ-बुर्तीबाङ गर्न घोडाबाँधेसम्म निकै सजिलो हुने गरेको भन्दै पछिल्लो समय लोकमार्गसँग जोडिएर गाउँ-गाउँमा पुर्‍याउने गरी निर्माण गरिएका सडकले मुख्य सडकमा क्षति पुगेको बताउनुभयो ।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले सडक निर्माण गर्दा सबै मापदण्ड पूरा गरिए पनि वर्षातको समयमा बाढी पहिरोले केही सडकहरूमा क्षति पुर्‍याएको तर्क गर्नुहुन्छ । उहाँले इञ्जिनियरिङ गरेका सडकहरू पनि भारी वर्षाका कारण भत्किने गरेको भन्दै आफूहरूले मुख्य सडकलाई असर नपुग्ने गरी ग्रामीण सडक निर्माण गरेको बताउनुहुन्छ । उहाँले अति आवश्यक पर्ने स्थानमा मात्रै आफूहरूले सडक निर्माण गरेको भन्दै वर्षातको समय सडक अवरुद्ध हुँदा नगरपालिकाले खुलाउँदै आएको बताउनुभयो । ग्रामीण सडकलाई व्यवस्थित बनाउन र मुख्य सडकमा क्षति हुन नदिनका लागि आफूहरूले योजना बनाएर नाली निर्माण गर्ने, भल व्यवस्थापनलगायतका काम गर्ने बताउनुहुन्छ ।


Top