जलवायु परिवर्तनको मारमा नेपाल : राष्ट्रपति भण्डारी

हिमालय टाइम्स   POSTED ON : कार्तिक १६, २०७८ (४:५४ AM)

जलवायु परिवर्तनको मारमा नेपाल : राष्ट्रपति भण्डारी

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको मारमा नेपाल परेको बताउनुभएको छ । सोमबार मनाङ आउनुभएकी भण्डारीले नेपालको कुनै भूमिका नभए पनि त्यसको मारमा परेको बताउनुभएको हो । भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै ‘जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको छ’ भन्नुभयो । जलवायुलाई प्रतिकूल बनाउन नेपालको कुनै पनि भूमिका नरहेको उल्लेख गर्दै उहाँले विश्वका अन्य देशहरूले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताउनुभयो ।

उहाँले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गर्नुभयो । नेपालले विश्वका विभिन्न मञ्चहरूमा जलवायु अनुकूलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि राष्ट्रपति भण्डारीले स्मरण गर्नुभयो । उहाँले जलवायु अनुकूलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताउनुभयो ।

Top