कुमाल समुदायलाई पाला बनाउने चटारो

विवेक खड्का   POSTED ON : कार्तिक १६, २०७८ (५:३० AM)

कुमाल समुदायलाई पाला बनाउने चटारो

दाङ । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा तिहारको लागि आवश्यक सामग्री उत्पादन र खपत बढ्दै गएको छ । अहिले बजारमा तिहारको लागि आवश्यक पर्ने सामग्रीहरू भाइमसला, फलफूल, सयपत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग बढ्दै गएको छ । तिहार नजिकिएसँगै बजारमा पालाको माग बढ्दै गएकाले दाङ देउखुरी गढवा गाउँपालिकाका कुमाल समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ । 

परम्परागत रूपमा नै कुमाल समुदायहरूको दिनचर्या तिहारमा बत्ती बाल्नका लागि प्रयोग हुने पाला बनाउनमा नै बित्ने गरेको छ । तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरू अन्य माटाका भाँडाको साथै पाला बनाउन व्यस्त छन् । तिहारमा लक्ष्मीपूजाका लागि खुत्रुकेको समेत माग उच्च हुने गरेकाले खुत्रुकेका लागि पनि उनीहरू व्यस्त छन् ।

प्रत्येक वर्ष तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन गढवा गाउँपालिकाअन्तर्गतका विभिन्न कुमाल समुदायहरूलाई भ्याइनभ्याई हुन्छ । विगतका वर्षहरूभन्दा यसवर्ष तिहारको लागि पाला बनाउने काम दुई महिना अघिबाटै सुरु भएको हो । यो वर्ष पालाको माग ५० प्रतिशतले वृद्धि भएकाले पहिलेको वर्षहरूमा झैँ माटाका पाला बनाउने चटारो भएको गढवा गाउँपालिका-१ बडहरा निवासी नेपालु थारू कुमालले बताउनुभयो । 

‘कोरोना महामारीका कारणले माटोको भाडा बनाउने पेशामा पनि असर पुर्‍यायो । जसकारण पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति सृजना भएको थियो । तर, हाल आएर अवस्था केही सहज भएकाले तिहारका लागि सामग्री बनाउन भ्याइनभ्याई छ ।’ यता, गढवा गाउँपालिका-१ पत्रिङ्गा निवासी जागुराम कुमाल भन्नुहुन्छ, विगतका वर्षहरूमा तिहार लाग्नुभन्दा अगाडिदेखि नै पाला बनाउन भ्याइनभ्याई हुने गरेको र यसवर्ष पनि निकै ठूलो मात्रामा सामग्रीहरूको माग भएकाले काम पनि बढी चाप भएको छ । वर्षमा दुईलाख पाला बिक्री गर्ने तथा बनाउने गरेकोमा यो वर्ष तिहारमा मात्रै दुई लाखभन्दा बढी पाला बनाउने तयारीमा रहेको कुमालले बताउनुभयो ।

प्हिला–पहिला हातले नै माटोका भाँडा बनाउने कुमाल समुदायले अहिले आधुनिक मेसिनबाट माटोका सामग्री बनाउने गरेका छन् । तिहार नजिकिँदै गएकाले यो समुदायलाई माटोको पालालगायतको सामग्री बनाउने र सुकाउने चटारो नै हुन्छ । दाङमा मात्र नभई पालाको माग बाहिरी जिल्लाका बजारमा समेत बढ्दै गएको छ । गढवाको पाला तुलसीपुर, घोराही, लमही, प्युठान, कपिलवस्तु, नेपालगञ्ज बुटवललगायत विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । यतिबेला कुमाल समुदायमा घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाँडा बनाउन, भाँडा पोल्नेलगायत काम गर्छन् भने महिलाहरू भने भाँडा सुकाउने, रंग लगाउने र उत्पादित सामग्रीहरूको व्यवस्थापनमै व्यस्त छन् । तिहारमा कुमाल समुदायका एक परिवारमा कम्तीमा एकलाखदेखि तीन लाखसम्मको पाला बिक्री हुने गरेको छ ।

Top