स्याङ्जामा प्रजिअ पौडेलको सक्रियतामा सडक सुधार अभियानको प्रारम्भ हुँदै

युवराज पौडेल   POSTED ON : कार्तिक १७, २०७८ (१०:२६ AM)

स्याङ्जामा प्रजिअ पौडेलको सक्रियतामा सडक सुधार अभियानको प्रारम्भ हुँदै

स्याङ्जा । स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल आएसँगै सिद्धार्थ राजमार्गको दुरावस्थाप्रति निरन्तर चासो र चिन्ता प्रकट गर्दै मर्मतका लागि प्रयास भएको छ । यसै सिलसिलामा आज प्रजिअकै अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको प्रमुख आतिथ्यमा स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसहित बैठक बसेको छ । 

सो बैठकबाट स्याङ्जाको सिमाना कुभिण्डेदेखि राम्दीसम्म रहेको सिद्धार्थ राजमार्गको सडक खण्डमा रहेका खाल्डाखुल्डीको कारणले सवारी आवागमनमा असहजता भई दुर्घटना बढेको प्रति गम्भीर ध्यानाकर्षण भएको र यसको सुधारका लागि आवश्यक पहल देखिने गरी भइरहेको प्रजिअ पौडेलले बताउनुभएको छ ।  पौडेलले भन्नुभयो, ‘हामी निरन्तर कुभिण्डेदेखि राम्दीसम्मको सडकको अवस्था अनुगमन गरिरहेका छौं । सडकको कारणले नै दुर्घटना हुनुपर्ने अवस्था नआओस् भनेर जिल्लाका सबै निकायहरुको परिचालनमार्फत् समस्या समाधानका लागि ठोस कदम चालिएको छ ।’

आजको बैठकबाट सडकमा रहेका खाल्डाखुल्डी पुर्नका लागि कार्तिक १७ गते बिहान १० बजेदेखि सडक डिभिजन कार्यालय, सम्बन्धित पालिका र सुरक्षा निकाय, राजनैतिक दल, विभिन्न सङ्घ, संस्था लगायतको संलग्नता र समन्वयमा सडकका खाल्डाखुल्डी पुर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने निर्णय भएको छ । 

यसका लागि सम्बन्धित ठाउँका स्थानीय तह, राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाबाट उक्त सडक स्थानमा आफ्ना कर्मचारी, सुरक्षाकर्मी, सदस्यहरुलाई उक्त अभियानमा आफूसँग भएको निर्माणजन्य सामग्रीहरु, डोजर, लोडर, रोलर, टिप्पर गैची बेल्चासहित उपस्थिति गराइदिनका लागि बैठकले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।


Top