प्रजिअको सक्रियतामा सडक मर्मत अभियान

युवराज पौडेल   POSTED ON : कार्तिक १८, २०७८ (९:३२ AM)

प्रजिअको सक्रियतामा सडक मर्मत अभियान

स्याङ्जा । स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा सिद्धार्थ राजमार्ग अन्तर्गतको स्याङ्जा सडकखण्डमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्ने अभियानको सञ्चालन भएको छ । प्रजिअ पौडेलको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको प्रमुख आतिथ्यमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसहितको कार्तिक १५ मा बसेको बैठकले उक्त सडकखण्डमा भएका खाल्डाखुल्डी पुर्ने र सडकको मर्मत गर्ने निर्णय गरेको थियो । कार्तिक १५ मा बसेको सो बैठकबाट स्याङ्जाको सिमाना कुभिण्डेदेखि राम्दीसम्म रहेको सिद्धार्थ राजमार्गको करिब ८२ किलोमिटर सडक खण्डमा रहेका खाल्डाखुल्डी मर्मत गर्ने निर्णय बमोजिम नै बुधबार सो अभियान सञ्चालन भएको हो  । 

बुधबार पाँचवटै स्थानीय तह र सबै सुरक्षा निकायको सहभागितामा सो अभियान सञ्चालन भएको छ । बुधबार करिब ९ वटा डोजर जेसिबी, १६ वटा ट्रिपर र अन्य निर्माण उपकरणसहित यस सडकखण्डका खाल्डाखुल्डी पुरिएको छ । यस कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब २०० सुरक्षाकर्मीको परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले हिमालय टाइम्सलाई बताउनुभएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेनासहित करिब २०० सुरक्षाकर्मीको सहभागितामा सबै पालिकाका निर्माण उपकरण र जनशक्तिको परिचालन गरी बुधबारबाट सिद्धार्थ राजमार्ग सडकखण्ड अन्तर्गतको स्याङ्जाभित्रको कुभिन्डेदेखि राम्दीसम्म ८२ किलोमिटरभित्रका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा अन्य आवश्यक मर्मत गर्ने कामको सञ्चालन भएको छ ।’ प्रजिअ पौडेलले भन्नुभयो । यस कार्यमा निजी निर्माण कम्पनीले पनि डोजर र टिप्पर उपलब्ध गराएको पौडेलले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ स्याङ्जा र वालिङले निर्माणमा खटिएका अभियन्ताहरुलाई खाजाको समेत व्यवस्था गरेका थिए । 

स्याङ्जा जिल्लामा राजुप्रसाद पौडेल प्रमुख जिल्ला अधिकारी भएर आएसँगै सडक खण्डमा भएका खाल्डाखुल्डी पुरी सडककै कारण दुर्घटना हुने स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त भएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण थुप्रै सवारीका साधनहरु दुर्घटनामा परिरहेको जनगुनासो बढिरहेका बेलामा पौडेलको पहलमा सडक मर्मतको सार्थक अभियानको सञ्चालन भएको हो ।


Top