खोला थुनेर जलविहार बनाइने

डम्मर बुढा मगर   POSTED ON : कार्तिक २३, २०७८ (६:५५ AM)

खोला थुनेर जलविहार बनाइने

बागलुङ । बागलुङको बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वाकांक्षी योजना अघि सारेको थियो । २६ करोड रुपैयाँको लागतमा वन्यजन्तु उद्यान, मिनी ग्रेटवाल, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्रे गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माण लगायतका महत्वपूर्ण तर केही महत्वाकांक्षी योजना अघि सारेको बागलुङ नगरपालिका केही योजना निर्माण सफल गरिसकेको छ । 

बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रेको काम भइरहेको छ भने नगरपालिका नगर विकास कोषको ऋण साझेदारीमा अहिले साविक धौलागिरिमै पहिलोपटक आधुनिक बसपार्क निर्माण गरिएको छ । नगरपालिकाकै पहलमा विश्वकै लामो दाबी गरिएको गोल्डेन ब्रिज निर्माणदेखि त्यसको प्रवद्र्धनका लागि विश्व रेकर्ड राख्नसमेत पहल भइरहेको छ । अहिले वन्यजन्तु पार्क (प्राणी उद्यान)मा पदमार्ग निर्माणको काम जारी छ । 

नयाँ संघीय अभ्यासमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुग्न थाल्दा नगरपालिकाले अर्को महत्वकांक्षी योजना अघि बढाएको छ । गत वर्ष नै काठेखोला जलविहार परियोजनाको डिपिआर बनाउने तयारी भए पनि कोरोनाका कारण अहिले अध्ययन भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्कालै २० लाखमा योजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) र निर्माण सुरु गर्नका लागि एक करोड बजेट विनियोजन गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

‘खोलालाई पर्यटकीय केन्द्र बनाउने योजना हो, यो सम्पन्न हुँदा पर्यटकलाई पूरै एकदिन भुलाउने गरी संरचना बनाउने योजनामा छौं’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘भूगर्भविद् तथा जियोलजिकलमा दक्ष प्राविधिकहरूलाई लिएर अध्ययन गराउने काम भइरहेको छ, ड्याम बनाउने स्थानको भौगोलिक अवस्थाको विशेष अध्ययन भइरहेको छ, ३०-४० मिटर अग्लो ड्याम बनाएर डुंगा चलाउने, माछापालन गर्ने तथा खोला छेउछाउमा रक गार्डेन बनाउने र पर्यटकहरूलाई आकर्षित गर्ने हो ।’  

बागलुङ नगरपालिका-३ र बागलुङ नगरपालिका-९ तित्याङ जोड्ने फड्केडाँडाको झोलुंगे पुलमुनिदेखि माथि नगरपालिकाले काठेखोला थुनेर पाँच सय मिटर लामो तलाउ बनाउने योजना छ । खोलाको वारिपारिलाई पर्यटकीय केन्द्र बनाउने र खोलालाई थुनेर बहुआयामिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने नगरपालिकाको लक्ष्य रहेको पौडेलको भनाइ छ । 

काठेखोला थुनेर सञ्चालन गरिने जलविहार परियोजना प्राविधिक टोलीले अध्ययन गर्ने र डिपिआर निर्माणको चरणमा रहेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम बनाइसकेर खोला थुनिसकेपछि जलविद्युत् निकालेर नियमित आम्दानी गर्न सकिनेछ । 

आयोजनाको लागत अनुमानसहितको डिपिआर पछि मात्रै आउने भए पनि ३० देखि ४० करोड लगानीमा काठेखोला जलविहार परियोजनाले सार्थकता पाउने नगरपालिकाको अनुमान छ । सुरुमा केही करोड खर्चेर ड्याम बनाउने र अनावश्यक पानीलाई ड्याममाथिबाट खसाल्दा मनमोहक झरनासमेत बनाइनेछ । 

ड्याम निर्माणपछि जलविहार गराउँदै लैजाने र विस्तारै आवश्यक संरचना थप गर्न सकिने इञ्जिनियर शर्माको भनाइ छ । उहाँले बागलुङ जिल्लामा तलाउ नभएका कारण तलाउमा डुंगा सयर गराउने गरी पर्यटक आकर्षित गर्न काठेखोला नदी थुन्न थालिएको हो । नदी थुन्ने स्थानमा कुनै बस्ती र खेतीयोग्य जमिन नरहेका कारण समस्या नहुने शर्माले बताउनुभयो । 

‘एउटा जलविद्युत्का लागि आवश्यकअनुसारकै ड्याम निर्माण हुनेछ, ड्याममाथिबाट पानी खसालेर खोलामै बगाइनेछ, तालमा संकलन भएको पानीको बीचमा टापु बनाइनेछ भने वनभोजका लागि स्थान बनाइनेछ’ शर्माले भन्नुभयो, ‘तलाउ वारिपारि बगैँचा, उद्यान लगायतका मनमोह प्राकृतिक सुहाउँदो संरचना निर्माण गरिनेछ, जसकारण नदी थुन्दा अन्य केही समस्या आउने छैन ।’

खोला थुनेर बनाइएको मानवनिर्मित पोखरीमा, डुंगा चलाउने, माछा मार्ने, वनभोजस्थल बनाउनेलगायत पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ । जसकारण बागलुङ जिल्लाको पर्यटन उचाइमा पुग्नेछ भने यहाँका स्थानीयले रोजगारी पाउनेछन् । तलाउ आसपासमा रेष्टुराँ तथा होटलहरू समेत सञ्चालन हुँदा पर्यटकलाई थप खर्च गर्ने बाटो खुल्नेछ ।

Top