चिसो बढेपछि पठनपाठनमा समस्या

डम्मर बुढा मगर   POSTED ON : कार्तिक २४, २०७८ (३:३८ PM)

चिसो बढेपछि पठनपाठनमा समस्या

बागलुङ । उच्च पहाडी तथा हिमाली क्षेत्र लगायत मुलुकै भरी चिसो मौसम सुरु भएको छ । बागलुङको ढोरपाटन क्षेत्रमा पनि नकै चिसो बढेको छ । चिसो बढेसँगै ढोरपाटनवासीहरु बेसी (बोबाङ, अधिकारीचौर) झर्न तालेका छन् । विगतका वर्षहरुमा चिसो मौसम सुरु हुन साथ बेसी झर्ने विद्यार्थीहरु यस वर्ष ढोरपाटनमै रहेका छन् । 

जाडो बिदा हुने हुँदा बेसी झर्ने विद्यार्थीहरु कोरोनाका कारण चालु शैक्षिक ढिला सुरु भएको हुँदा यस वर्ष चाडो बिदा नगरि पठनपाठन हुने भएको छ । ढारपाटनको विद्यालयको चौरमा विद्यार्थीहरु समूह बनाएर बसेका देखिन्छन् । प्रत्येक समुहमा एक÷एक जना शिक्षक पनि । विद्यालयमा कक्षा कोठा नभएर यसरी चौरभरी विद्यार्थी भएका भने होइनन् । कक्षाकोठा नै खाली गराएर चौरमा विद्यार्थी राख्नुको कारण हो बढ्दो चिसो ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ को ज्योति विकास आधारभुत विद्यालयका विद्यार्थीहरु आजभोली यसरी नै पढनपाठनलाई निरन्तरता दिएका छन् । ढोरपाटन उपत्यकामा चिसो बढेसँगै यहाँका विद्यालयहरूमा चौरमै शैक्षिक क्रियाकलप भइरहेको देख्न सकिन्छ । हरेक दिनको प्रार्थना सकिएपछि विद्यार्थीहरू विद्यालयको चौरमा कक्षा अनुसारको समूह बनाएर बस्छन् । 

कक्षा शिक्षकले पनि विद्यार्थीको बसाइँअनुसार चौरमै सेतोपाटी राखेर नियमित कक्षा सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानध्यापक चक्रबहादुर अदैले जानकारी दिनुभयो । चिसो भुँई र शीतको पानी पनि चुँहिने भएकाले टिनको छानामुनि बस्नै नसक्ने विद्यार्थी कमल विकले बताउनुभयो । ‘चोसी निकै बढेको छ, यस कारण पहिलो घन्टी पनि कक्षा भित्र बस्नै कठिन हुन्छ’ विकले भन्नुभयो ‘रातभरको तुसारो पग्लिने हुँदा किताब र बेन्चमा पानी पर्छ ।’ यही कारण कात्तिकदेखि पुसको दोस्रो सातासम्म चौरमा पठनपाठन गर्ने गरेको शिक्षक श्याम विक बताउनुहुन्छ ।

ढोरपाटन उपत्यकाको हावा बहने स्थानमा विद्यालय भएको हुँदा चिसो हावा निरन्तर चल्न । चौरमा बसेर पढ्दा पनि जाडोले विद्यार्थीको ध्यान केन्द्रीत गर्न कठिन छ । पढाई भन्दा पनि चिसोबाट कसरी बच्ने भन्नेमा विद्यार्थी बढी केन्द्रीत हुने प्रधानध्यापक अदैले बताउनुभयो ।

कक्षाकोठामै नियमित पठनपाठन गर्न हिटर अथवा कोठा न्यानो पार्ने कुनै वैकल्पिक प्रविधि व्यवस्थापन गर्न सके सहज हुने उहाँले बताउनुभयो । ढोरपाटन क्षेत्रमा हिमपात र अत्याधिक चिसो बढ्ने हुँदा उक्त विद्यालय १५ पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छ । बर्खे बिदाको सट्टा हिउँदे बिदा गरिएको प्रअ अदैले बताउनुभयो । यहाँ कक्षा एकदेखि आठसम्म पठनपाठन हुन्छ ।

चिसो मौसमको बेला विशेषगरी बाल कक्षादेखि पाँचसम्मका बालबालिका विद्यालयमा नआउने, आएपछि छिट्टै घरमा जाने जस्ता समस्या रहेको छ । विद्यालयमा हाल एक सय ९२ जना विद्यार्थी छन् । चार जना स्थायी दरवन्दीका शिक्षक रहेको सो विद्यालयमा पाँच जना राहत र दुई जना आन्तरिक स्रोतबाट रहेको प्रअ अदैले बताउनुभयो । फ्रान्सको आर्च संस्थाले दुई जना शिक्षकको मासिक तलबभत्ता उपलब्ध गराएको छ ।

विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिसँग जोडन उक्त संस्थाले १२ वटा ल्यापटप, तीन वटा प्रोजेक्टर पनि उपलब्ध गराएको छ । उक्त संस्थाले प्रत्येक बर्ष सबै विद्यार्थीलाई पुग्ने विद्यालय पोशाक, स्टेशनरी सामग्री स्विटर र रेनसुज दिने गरेको प्रअ अदैको भनाई छ । विद्यार्थीलाई पठनपाठनमा ध्यान केन्द्रीत गर्न र जाडोबाट जोगाउन निकै समस्या भएको विद्यालयले जनाएको छ ।

ढोरपाटनको एक विद्यालय प्राङ्गणमा पठनपाठन हुँदै । तस्बिर : हिमालय टाइम्स


Top