मातृशिशु पोषण कार्यक्रमले समयमै गर्भजाँच गर्नेको संख्या बढायो

डम्मर बुढा मगर   POSTED ON : कार्तिक २७, २०७८ (४:५६ PM)

मातृशिशु पोषण कार्यक्रमले समयमै गर्भजाँच गर्नेको संख्या बढायो

 बागलुङ । ागलुङको गलकोट नगरपालिकामा जनप्रतिनिधि आए पश्चात स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको छ । स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, सामुदायिक स्वास्थ्य इकाई स्थापना लगायत स्वास्थ्य सम्बन्धी क्षेत्रमा परिवर्तन ल्याएको छ । त्यस मध्ये कै नगरप्रमुख मातृ शिशु पोषण कार्यक्रम एक हो । 

आमा र शिशुको मृत्युदरमा कमी ल्याई आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वाबलम्वी नागरिक निर्माण गर्ने उदेश्यका साथ नगरप्रमुख मात्रृ शिशु पोषण कार्यक्रम सञ्चालनमा ल्याईएको छ । यो कार्यक्रम पनि निकै प्रभावकारी बन्दै गएको छ । 

यो कार्यक्रम अन्र्तगत बच्चा र गर्भवती आमाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नियमित गर्भ जाँच गर्ने महिलालाई पहिलो किस्ता वापत दुई हजार रकम दिने गरिन्छ । यस्तै, दोस्रो पटक गर्भ जाँच गरेपछि एक हजार, तेस्रो पटक गर्भ जाँच गरेपछि एक हजार र चौथो पटक गर्भ जाँच गरेपछि पाँच सय रुपैँया दिने गरिएको छ । कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाबाट गर्भ जाँच गराएको प्रमाण कागजात पेश गरेमा नगरपालिकाले रकम हस्तान्तरण गर्ने गरेको प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

तर, केहि समय पहिले गर्भवती महिलाहरुले गर्भ जाँच गराउने, किस्ता बापतको रकम लिने र गर्भपतन गराउने गरेका थिए । सो सम्बन्धित गुनासाहरु आएपछि किस्तावापतको रकम एकमुस्ट दिन थालिएको पालिकाकी जनस्वास्थ्य अधिकृत मिरा शर्माले जानकारी दिनुभयो । किस्ता वापतको रकम लिने र विभिन्न ठाउँमा गएर भिडियो एक्सरे गरे पश्चात विभिन्न कारण देखाउदै गर्भपतन गर्ने महिलाको संख्या धेरै रहेको उहाँले बताउनुभयो । अहिले भने किस्ता वापतको रकम एकमुष्ट दिने गरिएको उहाँको भनाई छ ।

‘गर्भवती महिलाहरुले पहिला प्रोटोकल अनुसारनै नियमित जाँच गर्नहुन्छ, सो अनुसार हामीले किस्तावापतको रकम पनि दिने गरेका थियौँ, तर, गर्भवती महिलाहरुले किस्ता रकम लिईसकेपछि गर्भवतन गर्ने गरेको पाईयो,’ जनस्वास्थ्य अधिकृत शर्माले भन्नुभयो ‘केहि महिलाहरुमा त्यस्तो देखियो त्यस कारण हामीहरुले अहिले भने चार किस्ता बापतको रकम एकमुष्ट दिने गरेको छौँ ।’

अघिल्लो आर्थिक वर्षमा सो कार्यक्रमबाट करिब २ सय ५० गर्भवती महिलाहरु सो कार्यक्रमबाट लाभान्वित भएका थिए । कुल २ सय ७० महिलाहरु सुत्केरी भएकोमा २० जनाले विभिन्न कारण देखाउदै नियमित गर्भजाँच नगरेको पाईएको थियो । ‘२० जनाले प्रोटोकलको राम्रो संग पालना गर्नु भएन । २० जनामा कसैको दोस्रो पटक गर्भजाँच ढिला गरेका पाईयो, कसैको तेस्रो पटकको गर्भ जाँच ढिला गरेका पाईयो’, जनस्वास्थ्य अधिकृत शर्माले भन्नुभयो ।

उनीहरुले नियमित गर्भ जाँच नगर्दा उनीहरुलाई सो कार्यक्रममा समेट्न नसकिएको हो । त्यस्तै, गल्कोट नगरपालिकामा कोरोनाको समय अगाडी वार्षिक तीन सयको हाराहारीमा सुत्केरी हुने गरेको तथ्याङ्क रहेको थियो । नगरप्रमुख मात्रृ शिशु पोषण कार्यक्रम कार्यान्वयनमा आएपछि पहिले भन्दा अहिले समयमै गर्भ जाँच गर्ने महिलाहरुको संख्या बढेको शर्माले बताउनुभयो ।


Top