मुस्ताङमा भीषण हिमपहिरो : भागदौडमा ११ जना घाइते, ३०० भन्दा बढी चौँरी पुरिएको आशंका

डम्मर बुढा मगर   POSTED ON : कार्तिक २९, २०७८ (५:३० AM)

मुस्ताङमा भीषण हिमपहिरो : भागदौडमा ११ जना घाइते, ३०० भन्दा बढी चौँरी पुरिएको आशंका

बागलुङ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ को कोबाङ, नाउरिकोट, लार्जुङ र बोक्सीखोला क्षेत्रमा आइतबार मध्यान्न १२ बजे भीषण हिमपहिरो गएको छ । भीषण हिमपहिरो गएपछि भागदौड मच्चिँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजना शिक्षकको खुट्टा भाँचिएको छ । 

थासाङ गाउँपालिका-२ मा पर्ने तुक्सेतिक हिमाल क्षेत्रबाट एक्कासि ठूलो पहिरो जाँदा जनआदर्श माविका शिक्षक विद्यार्थीहरू भाग्दा ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । भीषण हिमपहिरोको ठूलो आवाज सुनेपछि शिक्षक विद्यार्थी भागेर ज्यान बचाएको ढकालले जानकारी दिनुभयो ।

‘बिहान ११ः४५ तिरको घटना हो, भीषण पहिरो आएपछि शिक्षक विद्यार्थीबीच भागदौड चलेछ, उहाँहरूले भागेर ज्यान बचाउनु भएछ,’ सहायक प्रजिअ ढकालले भन्नुभयो, ‘भागदौडमा ११ जना घाइते हुनुभएको छ, थप विवरण आउँदैछ ।’

भागदौडमा तीन शिक्षक÷शिक्षिका र आठजना विद्यार्थी घाइते भएको उहाँको भनाइ छ । घाइतेहरूको उद्दार गरी जिल्ला अस्पताल जोमसोम अस्पतालमा ल्याई उपचार भइरहेको ढकालले बताउनुभयो । घाइते शिक्षक र विद्यार्थीहरूको खुट्टा, हात र शरीरका विभिन्न अंगमा चोटपटक लाग्न पुगेको उहाँले जानकारी दिनुभयो । घटना भएको स्थान मुस्ताङ जिल्ला सदरमुकामभन्दा २० किलोमिटर पूर्व पर्छ । पहिरो गएको थाहा पाएपछि त्यस स्थानका स्थानीय पनि भागाभाग गरेको बताइएको छ । 

घटनाको खबर पाएलगत्तै सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको सहायक प्रजिअ ढकाल बताउनुहुन्छ । ‘घटनाको जानकारी पाउनासाथ सदरमुकामबाट प्रजिअ, सुरक्षाकर्मीलगायत टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो, प्रजिअ सापले त्यहाँको घटनाको विषयमा बुझेर आउनुभएको छ, घटनास्थलबाट फर्केलगत्तै गण्डकी प्रदेशका अर्थमन्त्री राम्जी बरालसँग यस विषयमा जानकारी गराउनुभएको छ ।’

वडा अध्यक्षका नरप्रसाद हिराचनका अनुसार रमला तुलाचनको घरमा क्षति पुगेको छ भने करिब पाँच÷६ जना स्थानीयको चौँरी गोठमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करिब ३०० को हाराहारीमा चौँरीगाई मरेको अनुमान गरिएको हिराचनले बताउनुभयो । 

भीषण हिमपहिरोको असर थासाङ गाउँपालिका-२ का विभिन्न क्षेत्रका स्थानीयहरूमा त्राससमेत बढेको छ । स्थानीयका अनुसार यो भीषण हिमपहिरो ३०÷३५ वर्षपछि आएको प्रजिअ ढकालले बताउनुभयो । हिमपहिरोमा मानापाथी हिमालको तल्लो भागमा केही चाँैरीगोठ पुरिएको बताइएको छ । न्यौरीकोटका कसेन्द्र गौचनको ६०, सुशीला गौचनको ३० र भीम थकालीको ५५ गरी १४५ चौरी पहिरोमा पुरिएको उहाँले बताउनुभयो । ढकालले पहिरोमा अहिलेसम्म कुनै पनि मानवीय क्षति भने नभएको बताउनुभयो ।

पहिरो आउँदा भागदौड मच्चिएको विद्यालय जनआदर्श माविका प्रधानाध्यापक खिमबहादुर गुरुङले हिमपहिरोबाट आएको हावाहुरीका कारण आफूहरू अत्यास्सिएर भागदौड गर्दा केही शिक्षक र विद्यार्थी घाइते भएको बताउनुभयो । उहाँले पहिरोले विद्यालयमा भने कुनै क्षति नपुर्‍याएको बताउनुभयो । ‘हामीहरू पठनपाठन गर्दै थियौँ, अचानक अँध्यारो भयो, पहिरो ठूलो गएको भएर होला हावाहुरी चल्यो हामी अत्यासिएर भागाभाग गर्दा हाम्रा केही शिक्षक साथीहरू र विद्यार्थी भाइबहिनीहरू घाइते हुनुभएको छ,’ प्रअ गुरुङले भन्नुभयो, ‘अहिले विद्यालयमा जोखिम छैन, विद्यालय एक÷दुई दिन बन्द हुन्छ, त्यसपछि पुनः सञ्चालन गर्नेछौँ ।’

गुरुङले पहिरो विद्यालयभन्दा करिब तीन किलोमिटर टाढा गएको हुँदा विद्यालय क्षेत्र जोखिममा नरहेको बताउनुभयो । उहाँले पहिरो अहिलेसम्मकै ठूलो भएको बताउनुभयो । उक्त क्षेत्रमा अहिले हिउँ मात्रै रहेको गुरुङको भनाइ छ । थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले समय-समयमा हिमपहिरो जाने गरे पनि अहिले निकै ठूलो पहिरो गएको बताउनुभयो । उहाँले ठाउँ भिरालो र लामो समयदेखि हिमपात नभएको भन्दै हिउँ पग्लिएर यति ठूलो पहिरो गएको हुनसक्ने बताउनुभयो । ‘योपटक निकै ठूलो पहिरो गयो, सानो-सानो त बेलाबेलामा जाने गथ्र्यो तर अहिलेको जस्तो गएको थिएन, हिउँ पनि परेको थिएन, ठाउँ निकै भिरालो थियो, धेरै दिन हिउँ नपरेको र हिउँ पग्लिँदै गएपछि यति ठूलो पहिरो गएको भन्ने अनुमान छ तर यसको यकिन कारण त अनुसन्धानको विषय नै हो ।’

यो विगतको भन्दा अलि खतरनाक छ : जलाधार विज्ञ मधुकर उपाध्याय

हिमपहिरो पहिलोपटक आएको होइन । तर, यो विगतको भन्दा अलि खतरनाक छ । विगतमा साना–साना पहिरो आउने भए पनि योपटक ठूलो पहिरो आएको छ । बस्ती नजिक भएकाले पनि यसले खतरा बढाएको हो । सचेत रहन आग्रह गर्दछु । यसको कारण जलवायु परिवर्तन नै मुख्य हो । जलवायु परिवर्तनका कारण नै यस्ता समस्याहरू निम्तिने गरेका छन् । हिमपहिरो र हिमताल फरक कुरा हो । हिमताल हिमनदी बग्दै गर्दा जमेर बन्ने पोखरी हो । अहिले नेपालका केही हिमतालहरू फुट्ने खतरामा छन् तर त्यसको व्यवस्थापनको काम भइरहेको छ, राम्रो पक्ष । हिमपहिरो कतिबेला खस्छ भन्ने अनुमान गर्न गाह्रो छ । यो थुप्रिएको हिउँ जतिबेला पनि फुट्न सक्छ । हामी सचेत र सजग हुनु भने जरुरी रहेको छ । 

तस्बिर : निरज थकालीको फेसबुकबाट 


Top