ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

युवराज पौडेल   POSTED ON : कार्तिक २९, २०७८ (११:४६ AM)

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ५ स्थित सेतीदोभान नजिकै एकराहे भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय तनहुँ भानु नगरपालिकाका वडा नं. ५ का सन्तोष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ । 

हिजो राति करिब १०ः४० बजेतिर दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । रङ्गेठाँटीबाट स्याङ्जातिर फर्किँदै गर्दा भित्री सडक खण्डमा ग.१ त. ६४४० नं.को खालि ट्याक्टर दुर्घटना भएको बताइएको छ । ट्याक्टरको बायाँ साईडको टायर (ठुलो टायर) ले च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा सहचालक ३४ वर्षीय तनहुँ जिल्ला भानु नगरपालिकाकै रमेश गुरुङलाई जिल्ला अस्पताल स्याङ्जामा प्राथमिक उपचार गरी आज नै मणिपाल अस्पताल पोखरामा पठाइएको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पताल श्रोतले बताएको प्रहरीले उद्घृत गरेको छ । दुवै जना दाजुभाइ पर्ने रहेको बताइएको छ । घाइतेको टाउको र  खुट्टामा चोट लागेको छ ।

उक्त ट्याक्टर स्याङ्जा प्रगतिनगरस्थित नेपाल हाडवेयर पसलको रहेको प्रहरीले बताएको छ । दुर्घटना चालककै कमजोरीका कारणले हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बाँयापट्टि नालामा  ट्याक्टरको पाङ्ग्रामुनि चालकको शव च्यापिएको अवस्थामा भेटिएको थियो ।


Top