जीप दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु

धु्रबसागर शर्मा   POSTED ON : मंसिर १४, २०७८ (११:१५ AM)

जीप दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जादै गरेको बोलेरो जीप सोमबार साँझ बेगस्थित घात्पामा (औल ) दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या चार पुगेको छ  । निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार ८ जनामध्ये ड्राईभर र महिला वडा सदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा, रघुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले वताए । वडासदस्य र चालकको बेनी अस्पतालमा ल्याउदा ल्याउदै निधन भएको थियो भने अन्य दुईजनाको घटनास्थलमा  नै निधन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ । रिफर हुनेमा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विकलाई पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् । बोेलरो जीप सडकबाट करिब दुईसय मिटर तल जंगलमा खसेको थियो । घाईतेलाई स्थानीयबासी, जनप्रतिनिधिले उद्धार गरी थप उपचारका लागि बेनी ल्याएका थिए । बोलेरो जीप दुर्घटनाको कारण नखुलेकोे प्रहरी नायव उपरिक्षक राईले बताए ।


Top