29th September | 2020 | Tuesday | 5:19:29 PM

तराईका महिलामा पाठेघर खस्ने समस्या भयावह

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २१, २०७५ (१०:०१ AM)

तराईका महिलामा पाठेघर खस्ने समस्या भयावह

काठमाडौं । तराई क्षेत्रमा २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । तराईका ९ जिल्लामा गरिएको स्वास्थ्य परीक्षण र उपचार सहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको हो ।

भारत सरकार, भारतीय राजदूतावासबाट नेपाल–भारत सहयोग कार्यक्रम अन्तरगत हेल्दी नेपाल कम्युनिटी फाउन्डेसनले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीमा ४५ हजार महिलामा अध्ययन परीक्षण गरेको थियो । यो परीक्षण सन् २०१६ देखि २०१८ सम्म गरिएको हो । पहिलो एक जिल्लामा ५ हजारका दरले चरणमा ९ वटा जिल्लाका ४५ हजार महिलाको घरमै पुगेर अध्ययन परीक्षण गरेको जनाइएको छ । जनचेतनामूलक सन्देशमार्फत समाजमा व्याप्त अन्धविश्वास, संकोच, अवहेलना र रुढीवादी परम्परा चिर्दै तथ्यांक संकलन गरिएको उक्त संस्थाले जनाएको छ । 

परीक्षण गरिएका ४५ हजार महिलामध्ये ३४ हजार ९६० को पाठेघर खस्ने समस्या प्रारम्भिक अवस्थामा रहेको पाएको थियो । उनीहरूलाई रोकथामका उपायबारे जानकारी गराइएको थियो । दोस्रो चरणमा ९ वटै जिल्लामा पाठेघर खस्ने समस्या निराकरणका लागि निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको थियो । जसमा १० हजार ८०० महिलालाई मेडिकल डाक्टर, हेल्थ असिस्टेन्ट र नर्सहरूमार्फत सेवा दिइएको थियो । उनीहरूलाई आवश्यक औषधि, किगल अभ्यास र पाठेघर खस्न रोक्ने रिङ पेसरी उपलब्ध गराइएको थियो । तेस्रो चरणमा पहिचान गरिएका ३६० जनाको पाठेघर खसेको शल्यक्रिया नै गरिएको थियो । 

फाउन्डेसनकी कार्यक्रम संयोजक डा सदीक्षा गिरीका अनुसार तराईका पिछडिएका समुदाय, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलामा पाठेघर खस्ने समस्या विकराल रहेको पाइएको छ । उनका अनुसार तराईमा ब्याप्त बालविवाह, छोटो जन्मान्तर, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी लगायत समस्या भयावह रूपमा देखिएको छ । लाजका कारण रोग लुकाएर बसेका महिलाको संख्या ठूलो छ । उनीहरू सामाजिक अपहेलना हुने भयले उपचारमा नआउँदा समस्या अझ विकराल बन्दै गएको छ । 

पाठेघर प्रजनन् अंगसँग सम्बन्धित भएकाले अझै पनि सीमान्तकृत र शिक्षाबाट पछाडि परेका महिलाहरूले यो समस्या लुकाएरै बस्ने गरेको आफूले पाएको डा सदीक्षाको अनुभव छ । सरकारले पाठेघरको निशुल्क जाँच र शल्यक्रिया गर्ने कार्यक्रम ल्याउने गरेको भए पनि सीमान्तकृत, पिछडिएका र गरिबीको चपेटामा परेका समुदायसम्म यो सेवा नपुगेको फाउन्डेसनको ठहर छ । 

पाठेघर खस्ने तराईका महिलाको पनि प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेकाले यसमा विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको डा गिरीको भनाइ छ । अध्ययन तथा परीक्षण सम्पन्न गर्न फाउन्डेसनले ९ जिल्लाका ९ वटा अस्पतालसँग सहकार्य गरेको जनाइएको छ । भारत सरकार, भारतीय राजदूतावासले महिला सशक्तीकरणका लागि तीन वर्षमा तीन चरणमा सम्पन्न गरेको यो परियोजनाको कूल अनुदान रकम ४ करोड ९४ लाख ७० रहेको जनाइएको छ । समाजकल्याण परिषद्, स्वास्थ्य मन्त्रालय र दातृसंस्था भारत सरकार, भारतीय राजदूतावासको अनुगमन र मूल्यांकनमा यो परियोजना सम्पन्न भएको जनाइएको छ । 


Views: 252