30th September | 2020 | Wednesday | 2:43:42 AM

दीर्घकालीन दमका रोगी बढ्दै

पार्वती थापामगर   POSTED ON : मंसिर ५, २०७६ (९:४७ AM)

दीर्घकालीन दमका रोगी बढ्दै

काठमाडौं । लामो समय धूमपान, मध्यपान गर्ने र धुलो–धुवाँमा बस्ने मानिसमा श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम (सिओपिडी) को समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यससम्बन्धी जानकारी दिएको हो । परिषद्ले केही महिनाअघि ‘जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगको भार’का विषयमा देशव्याaपी अध्ययन–अनुसन्धान गरेको थियो ।

अध्ययनले नेपालमा करिब १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग दम (सिओपिडी) का बिरामी रहेको देखाएको छ । धूमपान, सुर्तीजन्य पदार्थको सेवन, प्रदूषण र दाउराको प्रयोग गरेर चुलो बाल्ने ४० वर्ष कटेका मानिसमा यसको समस्या बढी हुने गरेको पाइएको छ । यसका साथै विभिन्न कलकारखानामा काम गर्ने कामदारमा पनि यो समस्या रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो रोग लागेमा लगातार खकारसहितको खोकी लागिरहने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, छालाको रङ नीलो हुने लगायतका लक्षण देखापर्ने छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले बताए । 

धूमपान नगर्ने, प्रदूषणबाट बच्ने र समय–समयमा फोक्सोको परीक्षण गर्ने तथा समस्या देखिएका बिरामीले डाक्टरको परामर्शअनुसार औषधि सेवन गर्ने हो भने यो समस्याबाट बच्न सकिन्छ । यस्तै, बाहिरी वातावरणमा मास्क लगाएर मात्र निस्कने, ग्रामीण क्षेत्रमा धुवाँजन्य वस्तुहरूबाट टाढै रहनु पर्दछ ।

परिषद्ले देशव्यापी रूपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी ४ वटा नसर्ने रोगका विषयमा पनि अनुसन्धान गरेको थियो । सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयको अध्ययनका लागि परिषद्ले १३ हजार २ सयजनामा अध्ययन गरेको थियो । परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्न सातवटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रूपमा छनोट गरी अनुसन्धान गरेको थियो । 

नसर्ने चारवटा रोगमध्ये सबैभन्दा बढी सिओपिडी दमको समस्या बढी देखिएको अध्ययनमा पाइएको छ । सिओपिडी दम ११.७ प्रतिशतमा त्यसपछि मधुमेहको ८.५, मिर्गौलासम्बन्धी रोग ६ र मुटुरोग २.९ प्रतिशत रहेको पाइएको छ । 

अध्ययनअनुसार श्वासप्रश्वाससम्बन्धी रोग सिओपिडी दमको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५.१ प्रतिशत पाइएको छ ।

विश्वमा २५ करोड मानिस सिओपिडी दमबाट प्रभावित भएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को तथ्यांकमा उल्लेख गरिएको छ । 


Views: 365