30th September | 2020 | Wednesday | 3:19:48 AM

एचआइभी एड्सको नयाँ संक्रमण घट्दै

पार्वती थापामगर   POSTED ON : मंसिर १६, २०७६ (११:१४ AM)

एचआइभी एड्सको नयाँ संक्रमण घट्दै

काठमाडौं । विश्वमा एचआइभी पत्ता लागेको ३८ वर्ष पूरा भएको छ । यसलगत्तै विश्व एड्स दिवस मनाउन थालेको पनि ३१ वर्ष पूरा भइसकेको तथ्यांक छ । नेपाललगायत विश्वभर नै डिसेम्बर १ का दिन ‘विश्व एड्स दिवस’को रूपमा यससम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको पाइन्छ । आइतबार काठमाडौं उपत्यकालगायत देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूलनाराका साथ मनाइएको यस दिवसमा विभिन्न सरकारी तथा गैरसरकारी र दातृ निकायले ठाउँठाउँमा एड्ससम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन् ।

सन् २०१० देखि सन् २०१८ सम्ममा विश्वव्यापी रूपमै एड्सको नयाँ संक्रमण १६ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै सन् २०१० को तुलनामा सन् २०१८ सम्ममा नेपालमा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको पाइएको छ भने ७१ प्रतिशतले बच्चाहरूमा हुने नयाँ संक्रमणमा पनि कमी आएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले राजधानीमा ३२ औं विश्व एड्स दिवसको अवसर पारेर उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

घटेको संक्रमणमध्ये ४१ प्रतिशत संक्रमित आमाबाट जन्मिएको बच्चाहरूमा पनि संक्रमण कम भएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । सन् १९८८ देखि हरेक वर्ष यसैगरी एड्सका बिरामीहरूलाई हेरचाह, औषधोपचारका साथै एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथामका कार्यक्रमहरू सञ्चालन हुँदै आएकाले पनि यसको संक्रमण घट्दै गइरहेको केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए । 

यस्तै, सन् २००४ मा सबैभन्दा धेरै एड्सको संक्रमणले मृत्यु भएको तथ्यांक छ । सन् २०१८ सम्ममा एड्सको कारणले मृत्यु हुनेको संख्या ५६ प्रतिशतले घटेको देखाएको छ । 

एचआइभी र एड्सको उच्च जोखिममा सबैभन्दा बढी पुरुष समलिंगी, सुईद्वारा लागुऔषध प्रयोगकर्ता र यौनकर्मी, महिला तथा वयस्कहरू रहेकाले समुदायबाटै यसलाई नियन्त्रण गर्ने कार्यक्रमहरू आयोजना हुनुपर्नेमा जोड दिइएको छ । 

विश्वमा सन् २०१८ को अन्त्यसम्ममा संसारभर ३ करोड ७९ लाख व्यक्तिहरूमा एचआइभी संक्रमण भएको तथ्यांक विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को रहेको छ । तीमध्ये नेपालमा २९ हजार ९४४ जनामा एचआइभी संक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये १७ हजार ७३२ पुरुष छन् भने १२ हजार २१२ महिला छन् ।

नेपालमा करिब ७६ प्रतिशत व्यक्तिमा असुरक्षित यौनसम्पर्ककै कारणले एचआइभी संक्रमण भएको पाइएको छ । 

सन् २०१८ सम्ममा कुल एचआइभी संक्रमितमध्ये ६२ प्रतिशत २ करोड ३३ लाख मात्र एआरभी उपचारमा संलग्न रहेको तथ्यांक छ । 

यसैगरी, एड्सको कारणले मृत्यु हुनेको संख्या ३८ प्रतिशतले घटेको छ । सन् २०१९ जुलाईसम्ममा नेपालको कुल एचआइभी संक्रमितमध्ये १७ हजार ९८७ ले मात्र एआरभी उपचार पाएका छन् । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । 

 


Views: 205