26th October | 2020 | Monday | 9:37:57 PM

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख

  POSTED ON : आश्विन २, २०७७ (८:३० AM)

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चावहिलको ओम अस्पतालमा उपचाररत महामन्त्री कोइरालाले बिहीबार भिडियो सन्देश जारी गरेर स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिनुभएको हो ।

उहाँले पार्टीका नेता–कार्यकर्तासँगै शुभचिन्तकहरूलाई आप्mनो स्वास्थ्यलाई लिएर चिन्तित नहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्नुभएको हो । ‘म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरूले चिन्ता गर्नुपर्दैन । दुई–तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौँ भनेर तपाईं सम्पूर्णलाई आग्रह छ,’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार महामन्त्री कोइरालालाई निमोनिया देखिएको छ । उहाँको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । कोेभिड¬–१९ को संक्रमण देखिएपछि घरमै होम आइसोलेसनमा रहनुभएका कोइरालालाई ज्वरो आएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालका निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठ लगायतको टिम रहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिनुभयो । भदौ २३ गते महामन्त्री डा. कोइरालालाई कोरोना संक्रमण देखिएको थियो ।

यसैबीच, कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालाप्रति स्वास्थ्य लाभको शुभेच्छा प्रकट गर्नुभएको छ । कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सभापति देउवाद्वारा महामन्त्री डा. कोइरालाको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गरिएको जनाएको छ ।

‘सभापति शेरबहादुर देउवाले महामन्त्री कोइरालाको स्वास्थ्यबारे नियमित चासो राख्नुसँगै यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Views: 30