2nd December | 2020 | Wednesday | 3:23:26 AM

रोकिएन संक्रमणको निरन्तरता, नयाँ संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामै

  POSTED ON : आश्विन १४, २०७७ (९:०४ AM)

रोकिएन संक्रमणको निरन्तरता, नयाँ संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा छ । देशभर थपिने नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाकै रहेका छन् । उपत्यकामा दिन–प्रतिदिन संक्रमितको संख्या चुँलिदै छ । देशभरका संक्रमितमध्ये दैनिकजसो आधाभन्दा बढी त उपत्यकामा मात्र देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । 

मंगलबार मात्रै उपत्यकामा ९३४ संक्रमित थपिएका छन् । यो काठमाडौंमा एकैदिन देखिएको अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसहित उपत्यकामा कुल संक्रमितको संख्या २३ हजार २६४ पुगेको जानकारी दिनुभयो । मंगलबार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा दुई हजार ३४६ र भक्तपुरमा  दुई हजार ३७ संक्रमित पुगेका छन् । 

मंगलबार देशभर थप एक हजार ५१३ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेका छन् । योसहित कुल संक्रमितको संंख्या ७६ हजार २५८ पुगेको छ । यस्तै देशभर मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ छ । 

मंगलबार थप ७३१ जना कोरोना संक्रमित निको भएको पुष्टि भएको छ । योसँगै हालसम्म ५५ हजार ३७१ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १०  हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएसँगै अहिलेसम्म १० लाख नौ हजार २९८ जनाको पिसिआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन नौ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना छन् भने ३४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ र २१३ जना आइसियुमा उपचारत छन् । 

यस्तै मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा एक, झापामा नौ, तेह्रथुममा दुई, भोजपुरमा एक, मोरङमा १०१, सुनसरीमा ३२, धुनषामा १०, पर्सामा २३, बारामा चार, महोत्तरीमा दुई, सप्तरीमा पाँच, सर्लाहीमा ६, सिरहामा आठ, काभ्रेमा १३, चितवनमा ६२, धादिङमा चार, नुवाकोटमा चार, मकवानपुरमा ६, रामेछापमा एक, सिन्धुलीमा तीन, सिन्धुपाल्चोकमा एक, कास्कीमा १६, गोरखामा दुई, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, स्याङजामा दुई, कपिलवस्तुमा ११८, गुल्मीमा दुई, दाङमा ११, नवलपरासी पश्चिममा पाँच, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रोल्पामा एक, रुपन्देहीमा ९५, रुकुम पश्चिममा एक, कञ्चनपुरमा आठ, कैलालीमा २७, डडेल्धुरामा एक, डोटीमा एक र बैतडीमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरसको संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन् । मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला, महोत्तरीका ५८ वर्षीय पुरुष, काठमाडौंकी ५७ वर्षीया महिला तथा ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष र बाँकेकी ७६ वर्षीया महिला तथा ५३ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मंगलबार पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।

संक्रमण बढ्नुमा भीडभाडयुक्त स्थलहरू मुख्य जिम्मेवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्नुमा बढी भीडभाडयुक्त स्थलहरू मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.गौतमले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेको र जनस्वास्थ्य मापदण्डको पालना नभएको बताउनुभयो । गौतमले सार्वजनिक सेवा दिने सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूमा कोरोना जोखिम बढ्दो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले विद्युत् प्राधिकरण, खानेपानी संस्थान, मालपोत, टेलिकम, बैंक तथा वित्तीय संस्थाहरू, यातायातका टिकट काउण्टर, सपिङ मल, तरकारी बजार, रेष्टुराँ, वडा कार्यालयहरू, अस्पतालहरू र ब्यारेकहरू कोरोना संक्रमण बढाउनुमा मुख्य जिम्मेवार रहेको बताउनुभयो । प्रवक्ता डा. गौतमले यी संस्थाहरूमा जनस्वास्थ्यको मापदण्ड पूरा नभएको पनि प्रष्ट पार्नुभएको छ । उहाँले यस्ता संस्थाहरूमा साबुनपानीले हात धुने व्यवस्था मिलाउन, दुई मिटर दूरीको व्यवस्था कायम गर्न र मास्क प्रयोग अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको पनि बताउनुभयो ।

जोखिमका बीच उपत्यकामा बढ्दो भीडभाड

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बीच काठमाडौं उपत्यकामा पछिल्लो दिनमा भीडभाड बढेको छ । झण्डै साविकको तुलनामा सवारी साधन सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम पनि त्यत्तिकै बढेको छ । उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।

उपत्यकाको यतिबेला जनजीवन सामान्य भएजस्तै छ । तर, काठमाडौं कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । अहिले दैनिक जीवन पूरै सहज भए जस्तै देखिएको छ भने अर्कोतिर दिनानुदिन संक्रमण बढ्दो छ । सरकारले यसअघि चैत ११ गते पहिलोपटक करिब चार महिना लामो लकडाउन गरेको थियो । त्यसक्रममा कोरोना संक्रमणको दर एकदमै कम थियो । संक्रमितहरू पनि भारत र तेस्रो देशबाट आएकाहरूमा मात्रै थिए । लकडाउन खुलेसँगै स्थानीय संक्रमण देखिएपछि सरकारले काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । तीनवटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा मात्रै कोरोना नियन्त्रणमा आउनेभन्दा थप नौ हजार संक्रमित काठमाडौंका तीन जिल्लामा थपिएका थिए । निषेधाज्ञाले कोरोना नियन्त्रण हुन नसकेपछि जनदबाबमा परेर सरकारले यसलाई हटाइदिएको थियो । यो हटेसँगै काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिँदैछ भने जनजीवन सामान्य अवस्थाजस्तै देखिएको छ ।

जोर–बिजोर प्रणाली थप कडाइ

ट्राफिक प्रहरीले जोरबिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । 

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोरबिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमानुसार जोरबिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । मंगलबार दिउँसो सवा १२ बजेसम्मको तथ्यांकअनुसार ट्राफिक कारबाहीमा आठ सय भन्दा बढी सवारी परेका छन् । करिब सात सय मोटरसाइकल र स्कुटर रहेका छन् । 

संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ । 


Views: 76