2nd December | 2020 | Wednesday | 3:43:31 AM

केसीको अवस्था जोखिमपूर्ण : अस्पताल

  POSTED ON : आश्विन १५, २०७७ (७:५८ AM)

केसीको अवस्था जोखिमपूर्ण : अस्पताल

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उहाँको जीवन नै खतरामा परेको हो । 

अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा डा. केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउन सक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ । अस्पतालका अनुसार उहाँको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिमसमेत रहेको छ ।

अस्पतालले डा. केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने र बाउँडिने लगायतका समस्या देखिएको पनि उल्लेख गरेको छ । 

डा. केसीलाई आइसीयुमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उहाँले सामान्य सलाइन लिनबाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ । 

डा. केसीको जीवनरक्षाका लागि कठोर कदम चाल्न बाध्य नपारियोस् : चिकित्सक संघ

अनसनरत डा. गोविन्द केसीको मागका विषयमा नेपाल चिकित्सक संघले सरकारले कुनै पनि चासो नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै कठोर कदम चाल्न सक्ने भन्दै सरकारलाई तत्कालै वार्ताद्वारा समाधान निकाल्न माग गरेको छ । संघले यसका लागि सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

‘७६ हजारभन्दा बढी कोरोना संक्रमित भइरहेको अवस्थामा डा. केसीको जीवन रक्षाका निम्ति हुन सक्ने कार्यक्रमहरूलाई मध्यनजर गर्दै सरकारले यथाशीघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा समस्या समाधान गर्न अपरिहार्य भएको संघको ठहर छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

‘डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले कठोर कदमहरू चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेका जानकारी गराइन्छ,’ संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

संघले डा. केसीसँग सरकारले विगतमा १८ पटक सम्झौता गरेका कारण डा. केसीका माग सरकारकै अंगका रूपमा स्थापित भइसकेकाले तत्कालै समस्या समाधान गर्न भनेको छ । १९ औँ पटकको सत्याग्रहमा बस्नुभएका डा. केसीको अनशनमा बसेको बिहीबार १८ औं दिन पुगेको छ । केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा अनशन थाल्नुभएको थियो । उहाँ नेपालगञ्ज हुँदै काठमाडौं आएर अनशन थाल्नुभएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायतका कार्यक्रमहरू सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन अनशनरत डा. केसीले माग गर्नुभएको छ । उहाँले ६ बुँदे माग राखी अनशन सुरु गर्नुभएको हो ।


Views: 33