29th November | 2020 | Sunday | 3:30:30 PM

सात सय बढी कैदीबन्दीलाई कोरोना संक्रमण- ८ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७७ (८:४१ PM)

सात सय बढी कैदीबन्दीलाई कोरोना संक्रमण- ८ जनाको मृत्यु

काठमाडौ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्क एक/एक जनाको निधन भएको सापकोटाले बताउनुभयो ।    

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ । सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ ।

आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताउनुभयो । शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।    


Views: 80