3rd December | 2020 | Thursday | 1:54:38 PM

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

  POSTED ON : आश्विन २०, २०७७ (१:०४ PM)

     मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

    काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गर्नुभएको छ ।     

    कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।     

     

 सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । नजीकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उहाँले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिनुभयो । उहाँले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।     

     

 छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो । उहाँहरूले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।     

     

 मन्त्री ढकालले यसअघि स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आउनुभएको छ ।     


Views: 54