3rd December | 2020 | Thursday | 2:19:29 PM

महामारी नियन्त्रणमा सरकारलाई सकस, एकैदिन थपिए झण्डै साढे चार हजार संक्रमित

कृष्ण भुसाल   POSTED ON : आश्विन २३, २०७७ (९:२१ AM)

महामारी नियन्त्रणमा सरकारलाई सकस, एकैदिन थपिए झण्डै साढे चार हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर भयावह रूपमा बढेको देखिन्छ । केही दिनयता यो संख्या उच्च रूपमा बढेको छ । अस्पतालहरू बिरामीले खचाखच भएका छन् भने ६० प्रतिशत संक्रमितहरू बेडहरू खाली नभएर घरमै बस्न बाध्य छन् । सरकारले संक्रमण यहीँ दरमा थपिँदै गए जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा गम्भीर समस्या हुने बताइसकेको छ । 

कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि गरिएका उपायहरू विफलजस्तै देखिएका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गतेबाट देशव्यापी लकडाउन घोषणा गरेको थियो । लकडाउन साउन ७ गतेसम्म रह्यो । त्यसपछि काठमाडौं उपत्यकालगायत धेरै ठाउँहरूमा निषेधाज्ञा जारी गरियो । काठमाडौं उपत्यकामा भदौ २ गतेदेखि शुरू भएको निषेधाज्ञा तीन सातासम्म चल्यो तर कोरोना संक्रमणको दर ओर्लिएन । यसको ग्राफ दिन प्रतिदिन बढ्दो छ । जनजीवन सामान्यीकरण भएजस्तै देखिएको छ । 

मानिसहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा उदासीन बन्दा पनि संक्रमण भुसको आगोजस्तै सल्किएकोे छ । दशैँ तिहारजस्ता मुख्य पर्व आगमनले मानिसहरूको आवत–जावत र किनमेलका कारण हुने भिडभाडले संक्रमण थप फैलिने चिन्ता बढेको छ । योसँगै फेरि निषेधाज्ञा तथा लकडाउन हुने हो कि भनेर शंका पनि छ । संक्रमणको बाढीमा धकेलेर सरकारले लकडाउन र निषेधाज्ञा हटाएकाले आफूलाई जोगाउने जिम्मा प्रत्येक नागरिककै काँधमा आएको छ । 

बिहीबार थप चार हजार ३६४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिनुभयो । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

थप दुई हजार ६७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै ७१ हजार ३४३ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै बिहीबारसम्म ११ लाख ३१ हजार ९५८ जनाको पिसिआर परीक्षण भएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना छन् भने चार हजार ४६० जना क्वारेन्टिनमा छन् । यस्तै देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २६५ जना आइसियुमा उपचाररत छन् । 

काठमाडौँ उपत्यकामा बिहीबार दुई हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ । काठमाडौंमा २९ हजार ३७८, ललितपुरमा चार हजार ११ र भक्तपुरमा  दुई हजार ९१९ संक्रमित पुगेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र आठ पुरुष रहेका छन् । सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् 

सरकारले दसैँका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. गौतमले यस्तो आग्रह गर्नुभएको हो । ‘सबै मन्दिरहरूमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यवस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं’, उहाँले भन्नुभयो । सरकारले कोरोना संक्रमण जोखिम बढ्दै गएकाले यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।  गौतमले दसैँका बेला सार्वजनिक ठाउँमा रोटे र लिंगे पिङ नहाल्न र भिडभाड नगर्न आग्रह गर्नुभयो । गौतमले सहरी क्षेत्रमा मास्क नलगाई बजार जाने क्रमले समस्या बढाउने उल्लेख गर्नुभयो ।

मन्त्रिमण्डल होइन कोरोना रोकथाममा ध्यान दिनुहोस् – थापा

पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस नेता गगन थापाले समय छँदा ध्यान नदिएको र अहिले पनि कोरोना महामारीभन्दा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरेको टिप्पणी गर्नुभएको छ । नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एकातर्फ काठमाडौं बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ । अर्कोतर्फ काठमाडौंमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ ।’ 

थापाले अगाडि लेख्नुभएको छ, ‘यो अवस्था आउन नदिन पूर्वतयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक–पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन । समय, स्रोत, सहयोग सबै थियो तर तपाईंको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौं । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौं । यो बेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस् । बेहोस भएमात्र अस्पताल जाऊँ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू ।’ 


Views: 91