3rd December | 2020 | Thursday | 12:12:22 PM

पाल्पामा कोभिड–१९ को परीक्षण शुरू

रामचन्द्र रायमाझी   POSTED ON : आश्विन २३, २०७७ (९:३७ AM)

पाल्पामा कोभिड–१९ को परीक्षण शुरू

पाल्पा । पाल्पामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण सुरु भएको छ । संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पिसिआर मेसिनसहित किट र आवश्यक सामग्री उपलब्ध गराएपछि बिहीबारदेखि कोरोना परीक्षण सुरु भएको हो ।  

मेसिन जडान भएसँगै सर्वसाधारणको नमूना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुधबार छिट्टफुट्ट रूपमा केही स्वाब परीक्षण गरिए पनि विहीबारदेखि विधिवत् रूपमा कोरोना परीक्षण कार्य थालिएको हो ।’ ‘अब परीक्षणका लागि नमूना भैरहवा, काठमाडौं पठाउनुपर्ने बाध्यता रहेन’, पाण्डेयले भन्नुभयो, ‘पाल्पाका सबै नमूना तानसेनमै परीक्षण हुनेछन् ।’ पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

यो प्रविधि आएसँगै अब पाल्पालगायत छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, स्याङ्जामा संकलन भएका नमूनासमेत यतै परीक्षण हुनेछ । स्थानीय तह र स्वास्थ्य संस्थाबाट कोरोना परीक्षणका लागि आउँदा सम्बन्धित स्वास्थ्य कार्यालयको सिफारिस भने अनिवार्य रहेको छ । प्रयोगशालाका इन्चार्ज खिलध्वज कार्कीले बिहीबारबाटै कोरोनाको परीक्षण थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मंगलबार र बुधबार  लगाएर मेसिन जडान भयो, बिहीबारबाट नमूना परीक्षणको  काम थालेका छौं’ । ‘मंगलबार भैरहवाबाट पोजेटिभ र नेगेटिभ देखिएका नमूना ल्याएका हौं, तिनै स्याम्पललाई मेसिनमा परीक्षण ग¥यौं,’ उहाँले भन्नुभयो, ‘मेसिनले सही रूपमा काम गरेपछि परीक्षण सुरु गरेका हांै’ । 

उहाँका अनुसार संकलन गरिएको स्वाब मेसिनमा राखिएको  डेढघण्टामा रिपोर्ट दिन सकिने छ । ‘नमूना परीक्षणका लागि अन्य प्रक्रियाहरु पुरा गर्न कम्तीमा एक÷दुई घण्टा लाग्छ । तर, सबै रिपोर्ट तयार पारेर दिँदा चार÷पाँच घण्टामा बिरामीले नमूनाको रिपोर्ट पाउनेछन्,’ उहाँले भन्नुभयो । मेसिनको प्रतिघण्टा ९६ जनाको स्वाब परीक्षणको क्षमता रहे पनि अटो एस्ट्रा नहुँदा ९० जनाको मात्र परीक्षण गर्न सकिने प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज कार्कीका अनुसार तत्कालका लागि एक सिफ्टमा ४४ जनाको मात्र स्वाब परीक्षण गरिन्छ । प्रयोगशालामा दैनिक तीन सिफ्टमा १३२ जनाको स्वाब परीक्षण गरिने कार्कीले बताउनुभयो ।

कोरोना परीक्षणका लागि दैनिक बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने छ । स्वाब परीक्षण दैनिक १२ बजेदेखि दिउँसो २  बजेसम्म हुने प्रयोगशालाले जनाएको छ । स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका  अनुसार परीक्षण शुल्क दुई हजार लाग्ने छ । स्थानीय तह र स्वास्थ्य संस्थाका लागि भने स्वास्थ्य कार्यालयको सिफारिसमा निःशुल्क परीक्षण हुनेछ । 

संघीय सांसद सोमप्रसाद पाण्डेले स्वास्थ्य सेवा विभागबाट प्राप्त पिसिआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने किट तथा स्वास्थ्य सामग्री यस अघि नै अस्पताललाई उपलब्ध गराउनुभएको थियो ।  उहाँले झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री अस्पतालाई उपलब्ध गराउनुभएको हो । 

सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार नै  प्रयोगशालाका कोठाहरू निर्माण गरिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा आएको हो । यस अघि संघीय सरकारमार्फत पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि एक करोडको पिसिआर मेसिन खरिद गरिएको थियो । पाल्पामा कोरोना परीक्षण सुरु भएसँगै बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 


Views: 55